धनगढी- कैलाली सदरमुकाम धनगढीमा पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्।
देशव्यापी विरोध कार्यक्रमअन्तर्गत धनगढीको लक्ष्मीनारायण चौकमा विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समर्थित विद्यार्थी संगठनहरुले बुधबार साँझ ओलीको पुतला दहन गरेका हुन्।
संसद विघटन तथा सरकारका ‘असंवैधानिक’ काम कारबाहीको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले प्रधानमन्त्री ओली र सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन्।
संसद विघटनको कदमविरुद्ध देशभर नै आन्दोलनको कार्यक्रम घोषणा गरिएको नेपाल विद्यार्थी संघका देवेन्द्र जोशीले जानकारी दिए।
विद्यार्थी संगठनहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेका थिए।
विरोध कार्यक्रममा अखिल क्रान्तिकारीका डम्बर भट्टराई, अखिलका नेता समिर जोशीलगायतको विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो।