काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विधि, प्रक्रिया र विवाद समाधानका लागि बनाइएको निर्देशिकाबमोजिम क्रियाशील सदस्यता टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको छ।
बुधबार महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा बसेको बैठकले प्रकिया मिचेर क्रियाशील टुंग्याइए मान्य नहुने पनि निर्णय गरेको छ।
क्रियाशील विवाद टुंग्याउन मापदण्ड बनाउने विषयमा कांग्रेसमा विवाद चर्किएको बेला पौडेल समूहले यस्तो निर्णय गरेको हो। छलफलमा सहभागी नेता अर्जुननरसिंह केसीले प्रक्रियाविपरीत गरिएका निर्णय मान्य नहुने निर्णय भएको जानकारी दिए।
विवादित जिल्लाको क्रियाशील निर्देशिकाअनुसार टुंगो लगाउने तर टुंगो लाग्न नसके १५ औं महाधिवेशनका लागि थाति राख्नुपर्ने प्रस्ताव पौडेल समूहले अघि सारेको छ।
त्यस्ता जिल्लाको हकमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यको आधारमा अधिवेशन गर्न सकिनेबारे छलफल भएको केसीले बताए। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालालगायत सहभागी थिए।
क्रियाशील सदस्यता छानविनकै सन्दर्भमा सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजे पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन्। पदाधिकारी बैठकमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा पौडेल समूहका नेताहरुले छलफल गरिरहेका छन्।
सभापति देउवाले जथाभावी क्रियाशील सदस्य थप गरी पार्टी कब्जा गर्ने नीति अपनाएको संस्थापनइत्तर समूहको आरोप छ।