काठमाडौं- जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ। बुधबार सो भवनको कांग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डा. शशांक कोइराला र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरे।
भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। भवन निर्माणका लागि बागमती प्रदेश सरकारले ५० लाख र ट्रष्टको रु. १ करोड लगानी रहने छ। थप रकम दाताबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ। भवन निर्माणको मात्रै लागत करिब ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ।
काठमाडौं महानगरपालिका वडा–५ को हाँडीगाउँमा निर्माण हुने भवनका लागि काठमाडौं महानगरपालिकासँगै प्रदेश सरकारलगायतबाट पनि सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए।
शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस सभापति देउवाले बीपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाडौं महानगरपालिका र अन्यले गरेको सहयोगप्रति पार्टीका तर्फबाट धन्यवाद दिए। ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो’, देउवाले भने, ‘बीपीको सम्झना हामी सबैले गर्नुपर्छ। उहाँ विद्वान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता हुनुहुन्थ्यो।’
करिब दुई मिनेट बोलेका देउवाले आगामी दिनमा आम नेपालीका लागि यो केन्द्र बीपीको ख्याति र उनका बारेमा अध्ययन–अनुसन्धान गर्ने केन्द्रका रुपमा दरिलो गरी उभिने अपेक्षा लिएको बताए।
कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस महामन्त्रीसमेत रहेका बीपीपुत्र शशांकले बीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको बताए। ‘काठमाडौं महानगरपालिकाका मेयरज्युलाई धन्यवाद,’ कोइरालाले भने, ‘उहाँले बजेट दिनुभयो, त्यसैको आधारमा यहाँ आज शिलान्यास कार्यक्रम राखेका छौँ। भवन त संरचना मात्रै हो। त्यहाँ आत्मा हुनुपर्छ। आत्माले नै प्रोत्साहन गर्ने हो। आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला।’
कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले आफू कुनै समय बीपीलाई हेर्न र सुन्न सार्जजनिक कार्यक्रममा जाने गरेको स्मरण गर्दै आज बीपीको स्मृतिमा निर्माण हुन लागेको बीपी अध्ययन–अनुसन्धान केन्द्र भवनको शिलान्यास कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए। ‘कुनै समय टाढाबाट सुनेको, हेरिएको र आफूले पनि सम्मान गरेको व्यक्तिको स्मृतिमा निर्माण हुने भवनलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ शाक्यले भने, ‘बीपी पुत्र शशांकले भन्नेवित्तिकै राम्रो काममा सबैले सहमतिका साथ सहयोग गर्नुपर्छ भनेर महानगरपालिकाले सहयोग गरेको हो।’
शाक्यले कांग्रेस सभापति देउवातिर संकेत गर्दै दुर्घटनाबाट देशलाई बचाउन आग्रह गरे। ‘बीपीले २०१५ सालमा ल्याएको दुइ–तिहाईपछि तत्कालीन शासकबाट खोसियो,’ शाक्यले भने, ‘अहिलेको नेतृत्वले मुलुकलाई कुनै पनि दुर्घटना नहुने गरी देशलाई बचाएर अघि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु।’
शाक्यले आफू स्वर्गीय बीपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको बताए। ‘देश विकासका लागि जीवन समर्पण गर्ने सबै नेता आदरणीय हुनुहुन्छ,’ शाक्यले भने, ‘उहाँहरुलाई पढ्नुपर्छ, बुझ्नुपर्छ।’
ट्रष्टका महासचिव पोखरेलले नेपाली साहित्यबाट अन्तराष्ट्रियस्तरमा समेत ख्याति कमाउन सफल बीपीलाई अन्तराष्ट्रियस्तरसम्म परिचित गराउन उनको स्मृतिमा अध्ययन–अनुसन्धान केन्द्र स्थापना गरेको बताए। ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले किसान र मजदुरलाई केन्द्रविन्दुमा राखेर समाजवादको आन्दोलन अघि बढाउनुभयो,’ पोखरेलले भने, ‘उहाँको सामाजिक आन्दोलनमा पनि विशिष्ट भूमिका छ। उहाँको अध्ययन गर्न आवश्यक छ।’
पोखरेलले बीपीका भाषण, उनले लेखेका पुस्तक र उनले राष्ट्रका लागि गरेका योगदानलाई समेत ध्यान दिँदै उनका बारेमा अध्ययन र विविध अनुसन्धान गर्ने उद्देश्य रहेको बताए। ‘अन्तराष्ट्रियस्तरका व्यक्तिहरुलाई समेत नेपालमा आएर बीपीका बारेमा एकै ठाउँ बसेर अध्ययन गर्ने केन्द्रका रुपमा स्थापित गर्न यो अध्यययन र अनुसन्धानमा केन्द्रित हुन्छ।’ कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको पनि सहभागिता थियो।