काठमाडौं– नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रबाट आएका नेताहरु पनि एमालेमै यथावत् रहने भएका छन्। एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले साविक स्थायी कमिटीमा नरहेका तर नेकपा कालमा रहेका नेताहरु स्थायी कमिटीमा रहने निर्णय गरिएको जानकारी दिए।
‘अब धेरै तितामिठा कुरा गरेर हुँदैन,’ उनले भने, ‘सबै मिलेर पार्टी एकतालाई बलियो बनाएर अघि बढ्नुपर्छ।’ महाधिवेशन केन्द्रित गर्ने गरेर आयोजक कमिटी बनाइएको थियो। सर्वोच्च अदालतले जेठ २७ मा फैसला गर्यो। उनले भने, 'अदालतले महाधिवेशन आयोजक कमिटीका अधिकारमाथि प्रश्न उठाएको थियो। अदालतको फैसला त्रुटिपूर्ण छ नै आफ्नो पार्टीले बनाएको विधानअनुसार पार्टी चल्नुपर्छ। त्यो अधिकार पनि कटौती भएको छ।’
उनले कानुनी प्रतिवादका लागि भ्याकेटमा गएको अवस्थामा पनि अर्को निर्णय नभएसम्म अदालतको आदेश र अन्य कारणलाई पनि ध्यानमा राखेर एकताका लागि प्रयास गरिएको जानकारी दिए। नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन्।
यसअघि एमालेका पदाधिकारीहरू यथावत् रहने निर्णय भएको छ। महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले माधव नेपालसहितका ११ जना नेतामाथिको कारबाही फुकुवा गरेको छ। महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण भएपछि नेताहरुमाथि गरिएको कारबाही निष्प्रभावी भएको ज्ञवालीले जानकारी दिए। ‘हामीले पार्टी एकतालाई अघि बढाउन अब केन्द्रीय कमिटीमा नै रुपान्तरण गर्ने निर्णय गरेपछि त्यो कारबाही स्वतः निष्प्रभावी भयो,’ उनले भने, ‘अब सबैले पार्टी एकताको अभियानमा लाग्नुपर्छ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले त्यसलाई भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो।