काठमाडौं- यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिने ८ जनालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरू समस्यामा पर्नसक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि परिचालन गरेको बिशेष टोलीले बढी भाडा लिन सक्ने सम्भावित काउण्टरहरूमा निग्रानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरूसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
काठमाडौं बाहिर जाने यात्रुबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दाङ घर भएका वर्षीय ३५ सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिम बहादुर गाहा मगर, रूपन्देहीका ३६ वर्षीय दिप नारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल रहेका छन्। उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ।
काठमाडौंबाट बा१६च २१८४ नम्बरको प्राइभेट गाडीमा उदयपुसम्म लैजान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ वर्षे राकेश रसाईली पक्राउ परेका छन्। रसाईलीले प्रतियात्रु ३ हजारका दरले भाडा लिएका थिए।
यसैगरि चावहिलबाट सोलुखुम्बु जाने यात्रुसँग प्रतिब्यक्ति ५ हजारसम्म भाडा लिने २५ वर्षीय झनक बहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ। घिमिरेले ना१ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन्। पक्राउ परेका ब्यक्तिलाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्त गौशालामा बुझाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञा पश्चातको यो अवधीमा उपत्यका बाहिर जाने यात्रुसँग तोकिए भन्दा आठ गुणाबढी भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीलाई पक्राउ गरि कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
ट्राफिक महाशाखाले तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।
भाडामा यात्रु ओसार्ने ४७ वटा निजी सवारी कारबाहीमा
बिशेषगरी काठमाडौं उपत्यका बाहिरने यात्रुसँग भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राइभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ। त्यस्ता निजी नम्बर प्लेटका गाडीले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाइएपछि कारबाही गरेको महाशाखाले जनाएको छ।
'भाडाका सवारी साधनहरू बोलेरो, स्कार्पियोलगायतका निजी सवारीले भाडामा यात्रु बोक्ने गरेको पाइएकोले नियन्त्रण एवं कारबाही गर्न अभियान नै चलाइएको एसएसपी भट्टराईले जानकारी दिए। उनले जोर-विजोर प्रणालीलाई कडाइका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारबाही पनि सँगसँगै लगिएको समेत बताए।