काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामाथिको पटकपटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंक उत्पन्न भएको बताएका छन्।
संसद दिवस २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले यस वर्ष संसद दिवस मनाउँदै गर्दा चौतर्फी संकट बेहोरिरहेको उल्लेख गरेका छन्।
‘कोभिड संकट जारी रहँदा यस बीचमा संघीय संसद, प्रतिनिधि सभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको अवस्था छ,’उनले भने,‘ गहिरिंदो राजनीतिक संकटका बीच हामी मौसमजन्य विपत्तिको पनि सामना गरिरहेका छौं। संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ।’
मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता भएको सभामुखको भनाइ छ।
‘संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनका बलमा निर्मित संविधान अनुुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने छ,’सभामुखले सन्देशमा भनेका छन्,‘कोभिड–१९ को महामारीका कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिए पनि यस दिवसको महत्व र औचित्यप्रति संघीय संसद सधै सचेत छ।’
दिवसले संघीय संसद सदस्य, संविधानसभाका सदस्य, पूर्व सांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको उनले बताएका छन्।
सभामुखले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले संघर्षहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते तथा अंगभंग भएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
बिक्रम संवत २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद दिवस मनाउने गरिएको छ।