विराटनगर– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत चिकित्सक र कर्मचारीले उपकुलपतिलगायत प्रतिष्ठानका चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
मंगलबार वार्ताका लागि आउँदा मापसे गरेर आएको भन्दै उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीलाई कार्यकक्षमै थुनेका आन्दोलित कर्मचारीले बुधबार कार्यकक्षमा तालाबन्दी गरेका हुन्। आन्दोलनरत चिकित्सक र कर्मचारीले उपकुलपति गिरी, रजिस्ट्रार मोहनचन्द्र रेग्मी, रेक्ट गुरु खनाल र अस्पतालका निर्देशक गौरी शाहको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
उपकुलपति गिरीले आन्दोलनरत समूहलाई वार्तामा बोलाएका थिए। वार्ताका लागि संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलको नेतृत्वमा उपकुलपतिको कार्यकक्षमा प्रवेश गर्दा उपकुलपतिले मादक पदार्थ सेवन गरेको पाइएकाले तालाबन्दी गरेको आन्दोलनरत स्वास्थ्यकर्मी पदम नेपालीले बताए। उनले राति नौ बजेसम्म उपकुलपतिलाई कार्यकक्षमा थुनिएको बताए।
'हामीले मापसे जाँचका लागि आग्रह गरेका थियौं। तर, प्रहरीले त्यो लेबलको मानिसको मापसे जाँच गर्ने अधिकार आफूसँग नरहेको बताउँदै राति नौ बजे घर पुर्याइदिएको थियो। त्यसपछि उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन। वार्ता भाडिएपछि आज हामीले चारै जना पदाधिकारीको कक्षमा तालाबन्दी गरिदिएका छौं’, नेपाल समयसँग उनले भने।
'मंगलबार वार्ताका लागि बाेलाएर उपकुलपति मापसे गरेर आउनुभयाे। यसबाट उहाँ वार्ता गर्न तयार नरहेकाे प्रस्ट भएकाे छ। उहाँबाट समस्या समाधान नहुने भएपछि हामीले प्रधानमन्त्री वा शिक्षामन्त्रीबाटै वार्ताकाे पहल थाल्नुपर्ने आवश्यकता महसुस गरेका छाैं।'
प्रतिष्ठानको बेथिति अन्त्यका लागि आन्दोलनरत संयुक्त संघर्ष समितिले सोमबारदेखि आफ्नो माग सम्बोधन नगरेको भन्दै रिले अनशन सुरु गरेको थियो। तर, सोमबार बेलुकीबाट अनशनमा घुसपैठ भएको शंका गर्दै अनशन स्थगित गरेर आन्दोलनको स्वरुप फेरिएको नेपालीले बताए।
प्रतिष्ठानका उपकुलपतिबाट वार्ता सम्भव नदेखिएकाले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको अग्रसरतामा टिम बनाएर वार्ता गरिनुपर्ने उनको भाग छ। नेपालीले भने, 'मंगलबार वार्ताका लागि बाेलाएर उपकुलपति मापसे गरेर आउनुभयाे। यसबाट उहाँ वार्ता गर्न तयार नरहेकाे प्रस्ट भएकाे छ। उहाँबाट समस्या समाधान नहुने भएपछि हामीले प्रधानमन्त्री वा शिक्षामन्त्रीबाटै वार्ताकाे पहल थाल्नुपर्ने आवश्यकता महसुस गरेका छाैं।'