काठमाडौं- सरकारले देशभर सेरो प्रिभिलेन्स सर्भे गर्ने भएको छ। सर्भेको ७७ वटै जिल्लाका मानिसहरूको १३ हजार ७०० नमुना संकलन गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) प्रमुख डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रीय तथ्यांक विभागको सहभागितामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्भे गर्ने जनाइएको छ। त्यसका लािग प्राविधिक सहयोग विश्व स्वास्थ्य संगठनले गर्नेछ।
इडीसीडीका प्रमुख डा. पौडेलका अनुसार बिहीबारसम्म सबै जिल्लामा सर्भेको लागि प्राविधिक पुग्नेछन् र सर्भे सुरु गर्नेछन्।
सेरो सर्भे गर्दा प्राविधिकहरूले स्थलगत मानिसको ‘हिस्ट्री’ हेर्नेछन्। भ्याक्सिन लिए/नलिएको जानकारी लिने र उनीहरूको रगत संकलन गरिनेछ। सर्भे गरिसकेपछि प्राप्त नमुनाको रिपोर्टअनुसार तथ्यांकको अनुसन्धान एवं विश्लेषण गर्नेछ।
के हो सेरो प्रिभिलेन्स सर्भे ?
सेरो प्रिभिलेन्स सर्भे रगतबाट गरिने एउटा परीक्षण हो। समुदायमा कति मानिस संक्रमित बनेका थिए भनेर अध्ययन गर्न सेरो प्रिभिलेन्स सर्भे गरिन्छ।
सेरो सर्भेले कोभिड–१९ को संक्रमण भएर पनि थाहै नपाई निको भएका र अन्य संक्रमित भइसकेका मानिसमा भाइरस रहेको अवस्था पत्ता लगाउँछ।
प्रमुख पौडेलका अनुसार तत्काल संक्रमणको अवस्था पत्ता लगाउन पीसीआर परीक्षण गरिन्छ भने समुदायमा कति मात्रामा संक्रमण फैलिएको थियो भन्नेबारे पत्ता लगाउन सेरो सर्भे गरिन्छ।
सेरो प्रिभिलेन्स सर्भेबाट थाहै नपाई निको भएका र लक्षण नदेखिएरै पनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ। सेरो सर्भे रगतबाट गरिने भएकाले संक्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमुना संकलन गर्छ।
कति जनसंख्यामा संक्रमण देखियो? खोप लगाएकामा कस्तो प्रभावकारिता देखियो? संक्रमण कुन क्षेत्रमा बढी रहेछ? लगायतका जानकारी आउनेछ।
यसबाट आगामी दिनमा कस्ता योजना बनाउने, कसरी महामारीसँग जुध्ने भन्ने योजना बनाउन सहज हुने पौडेल बताउँछन्।