काठमाडौं- राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कालीगण्डकी नदीको बहाव परिवर्तन गर्ने परियोजना कार्यान्वयन नगर्न सरकारसँग माग गरेको छ। सरोकार निकायसँग छलफल नगरी परियोजना आउनु दुःखद् भएको स्वामी केशवानन्द गिरीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा परिषद्ले ऋषिमुनिका पालादेखि नै नदी किनारमा गुरुकुल सञ्चालन हुँदै आएको स्मरण गराइएको छ।
'प्राचीन शिक्षा र सभ्यताको वहन गर्दै आर्षपरम्परालाई जीवन्त राख्दै आएको कालीगण्डकी नदीको मौलिक वहाव नै परिवर्तन गरी अन्यत्र लैजान खोज्नु दुःखद् हो , यसलाई सच्याइनुपर्छ,' उनले भनेका छन्।
सनातन धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको कालीगण्डकी नदी पानीमात्र नभएर वैदिक शिक्षा प्रणालीको आधार भएकाले प्राचीन सभ्यता र सांस्कृतिक मूल्यमाथि अतिक्रमण हुने गरी कालीगण्डकी डाइभर्सन परियोजना कार्यान्वयन नगर्न परिषद्ले सरकारसँग माग समेत गरेको छ।
नदीका तटमा नै अहिले पनि गुरुकुल र आश्रम चलिरहेका छन्। प्राचीनकालदेखि नै गुरुकुल नदी किनारमै सञ्चालन हुँदै आएको छ। शिक्षा आर्जनको माध्यम बनेका नदी प्राचीन सभ्यताका साक्षी भएकाले यसको संरक्षणमा सबैको साथ हुनुपर्नेमा परिषद्ले जोड दिएको छ।