काठमाडौं– रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ।
नेकपा माओवादी केन्द्रको निर्णयपछि आयोगले पदमुक्त भएको सूचना प्रकाशित गरेको थियो। त्यसविरुद्ध उनीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। मंगलबार न्यायाधीश कुमार चुँडालको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
साथै विपक्षीलाई १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न पनि भनिएको छ। आदेशमा उनीहरुले अर्को दल गठन गरेको, कुनै दलमा प्रवेश गरेको वा राजीनामा दिएको भन्ने यकिन नभएको भन्दै निर्णय कार्यान्वयनमा रोक लगाएको हो।
नेकपा माओवादी केन्द्रले मेयर साह र कुशवाह सहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्र पठाएको थियो। उक्त पत्रकै आधारमा निर्वाचन आयोगले असार ११ गते सूचना प्रकाशित गर्दै पदमुक्त भएको जनाएको थियो।