काठमाडौं– तीन महिनादेखि अवरुद्ध राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) को रिक्त पदमा बढुवा सिफारिस सुरु गरिएको छ। लोकसेवा आयाेगका अध्यक्षको अध्यक्षतामा रहने बढुवा सिफारिस समितिले सहसचिवमध्येबाट वरिष्ठताका आधारमा सचिव पदमा बढुवाका लागि सिफारिस गर्न थालेकाे हाे।
आयोगका प्रवक्ता तोयनारायण सुवेदीले सिफारिसमा परेका सहसचिवको व्यक्तिगत विवरण अध्ययन गर्ने काम भइरहेको बताए। उनका अनुसार यसलगत्तै क्रमिक रुपमा सिफारिस गरिनेछ। आयोगको सिफारिसमा मन्त्रिपरिषद्बाट सचिव बढुवा हुने प्रावधान छ। उनले भने, ‘अहिले सचिवमा ९ पद रिक्त छ। यही हप्ता थप एक जना सचिव पद रिक्त हुँदैछ। रिक्त सचिवमा वरिष्ठ सहसचिवले निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्। आइतबारदेखि नै सिफारिस प्रक्रिया सुरु भइसकेको छ।’
राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, खानेपानी मन्त्रालय, मानवअधिकार आयोग, गण्डकी र कर्णाली प्रदेशको प्रमुख सचिव पद रिक्त छन्। यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको पद पनि रिक्त छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थराज ढकालले अवकाश पाएसँगै सचिव पद रिक्त भएको हो। राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त भएपछि राष्ट्रपति कार्यालको सचिव पद रिक्त छ।
गण्डकी प्रदेश सरकारमा पनि गत चैतमै प्रमुख सचिव विष्णुप्रसाद नेपालले अनिवार्य अवकाश पाएपछि प्रदेश सरकार प्रमुखमा सचिव रिक्त भएको हो। बागमती प्रदेश सरकारका प्रमुख सचिव मानबहादुर विकेले अवकाश पाएसँगै वैशाख ६ देखि बागमती प्रदेश पनि प्रमुख सचिवविहीन भएको छ भने कर्णाली प्रदेश सरकार पनि जेठ १५ बाट प्रमुख सचिव चिवचन्द्रमान श्रेष्ठले अवकाश पाएका छन्।
उपराष्ट्रपति कार्यालयका सचिव गोपीनाथ मैनालीले २ असारमा अवकाश पाएका थिए भने खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जेठमा अवकाश पाएका थिए। रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे असार १७ गते देखि सेवा निवृत्त हुँदै छन्।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पशुपक्षी तर्फका सचिव प्रेमनारायण कँडेल वन मन्त्रालयमा सरुवा भएसँगै सचिव पद रिक्त छ। वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले वैशाखमा अवकाश पाएका थिए। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका विज्ञान प्रविधि तर्फका सचिव सञ्जय शर्माले अवकाश पाएपछि पदपूर्ति भएको छैन।
१० पदमा बढुवाका लागि ३० सहसचिवबीच प्रतिस्पर्धा हुने भएको आयोगले जनाएको छ। आयोगमा पदाधिकारी नियुक्त भएसँगै सचिव बढुवालाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइएको हो।
यता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पनि सचिव पद रिक्त छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसूदन अधिकारीले अवकाश पाएपछि उनको ठाउँमा पुनर्निर्माण प्राधिकरणका सचिव मणिराज गेलाललाई सरुवा गरिएकाे छ। यसरी १० पदमा बढुवाका लागि ३० सहसचिवबीच प्रतिस्पर्धा हुने भएको आयोगले जनाएको छ। आयोगमा पदाधिकारी नियुक्त भएसँगै सचिव बढुवालाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइएको हो।
आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले सहसचिवमध्येबाट वरिष्ठताका आधारमा सिफारिस गर्नेछ। आयोगका अध्यक्ष नेतृत्वको सिफारिस समितिले रिक्त पदको तीन गुणा बढी सहसचिवको नाम सिफारिस गर्नेछ। आयोगका प्रवक्ता सुवेदीले भने, ‘सामान्यतया वरिष्ठताकै आधारमा सिफारिस हुन्छ। रिक्तमध्ये एक तिहाइ पदमा वरिष्ठताकै आधारमा बढुवा गर्नुपर्ने भएकाले ती सिनियर सहसचिव सचिव बन्ने पक्का जस्तै छ।’
सचिव बढुवाको प्रतिस्पर्धामा रहेका वरिष्ठ सहसचिवहरुमा कृष्णकुमार राउत, दामोदर रेग्मी, कृष्णहरि पुष्कर, किरणराज शर्मा, रामप्रसाद घिमिरे, हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, मुकुन्द निरौला, रामेश्वर दंगाल छन्।
त्यस्तै, रविलाल पन्थ, शंकर खरेल, विनोदप्रकाश सिंह, गोपीकृष्ण खनाल, घनश्याम उपाध्याय, राधिका अर्याल, दीपक काफ्ले, दिनेशकुमार घिमिरे, नारायणप्रसाद शर्मा दुवाडी, केदारनाथ शर्मा, प्रेमकुमार श्रेष्ठ, लोकनाथ पौडेल, गोविन्दबहादुर कार्की, महादेव पन्थ, काशीराज दाहाल, रघु बिष्ट, बाबुराम अधिकारी, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल पनि वरिष्ठ सहसचिव हुन्।