काठमाडौं– सर्वोच्च अदालतको आदेशपछि मन्त्रीका हैसियतले कामकाजमा रोक लागेपछि गृहमन्त्रीबाट रामबहादुर थापा बाहिरिए। त्यसयता प्रधानमन्त्री केपी शर्मा ओलीले नै उक्त मन्त्रालय आफूसँगै राखे। जेठ २१ को मन्त्रिपरिषद् विस्तारका समयमा पनि जनता समाजवादी पार्टी (जसपा) १० जना र एमालेबाट २ जना मात्रै समावेश गरेर मन्त्रिमण्डल पुनर्गठन गरे।
यो बीचमा धेरैको चासो थियो, गृह मन्त्रालयको जिम्मा केपी ओलीले कसलाई देलान्? गृहमन्त्री पदका लागि एमालेभित्रै ओली निकटका नेताहरु ‘लबिङ’मा थिए। यो दौडमा ओलीका विश्वासिला पात्रका रुपमा रहेका खगराज अधिकारी, महेश बस्नेत र गोकुल बाँस्कोटाको नाम चर्चामा थियो।
स्वयं प्रधानमन्त्री ओली पनि कसलाई गृह मन्त्रालयको जिम्मेवारी दिने भन्नेमा द्विविधामै थिए। अन्तमा उनले कास्कीका नेता खगराज अधिकारीलाई नै गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरे। आजै गृह मन्त्रालयको जिम्मेवारी दिइएका अधिकारीसहितका अन्य मन्त्रीहरुले शपथ लिने तयारी गरिएको छ।
‘प्रधानमन्त्रीले धेरै सोचविचार गरेर र दलमा सिरिनयर ठानेर नै खगराज कमरेडलाई गृह दिने निर्णय गर्नुभएको हो,’ ओली निकट एक नेताले भने, ‘यसमा अरुले चित्त दुखाउनुपर्ने कारण छैन। कमरेड खगराज काविल र योग्य हुनुहुन्छ।’
प्रतिनिधिसभा विघटन गरेर कात्तिक र मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेको अवस्थामा आफू निकट विश्वासिलो पात्रलाई नै ओलीले गृहमन्त्री बनाउन चाहिरहेका थिए। त्यसका लागि उनले आफ्ना सन्निकटहरुसँग पटकपटक छलफलसमेत गरेका थिए। निर्वाचन हुने नै भयो भने त्यो अवस्थामा गृहमन्त्रीको महत्त्व कति हुन्छ भन्ने प्रधानमन्त्री ओलीलाई थाहा नहुने कुरै भएन।
‘प्रधानमन्त्रीले धेरै सोचविचार गरेर र दलमा सिरिनयर ठानेर नै खगराज कमरेडलाई गृह दिने निर्णय गर्नुभएको हो,’ ओली निकट एक नेताले भने, ‘यसमा अरुले चित्त दुखाउनुपर्ने कारण छैन। कमरेड खगराज काविल र योग्य हुनुहुन्छ।’
को हुन् अधिकारी?
कास्की स्थायी घर भएका नेता अधिकारीले २०२९ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका थिए। २०३७ सालमा भएको अनेरास्ववियुको छैठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने अवसर पाए। त्यसपछि २०३९ मा उनी अनेरास्ववियुको सातौं सम्मेलनमा उपाध्यक्ष बनेका थिए। पोखराको पृथ्वीनारायण क्याम्पसबाट विद्यार्थी राजनीतिमा होमिएका उनी दुई पटक स्ववियू सभापति बनेका थिए।
२०४८ सालमै पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए। तर, पछि २०५१ को मध्यावधि निर्वाचनमा निर्वाचित भएपछि उनको संसदीय यात्रा सुरु भएको थियो। त्यसपछि उनी २०५६ र ०६४ मा भने पराजित भए। तर, २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा उनी कास्की-१ बाट निर्वाचित भए। ०७० मा भने उनले टिकट पाएनन्। टिकट नपाए पनि सुशील कोइराला नेतृत्वको सरकारमा २०७० फागुनदेखि २०७२ असोजसम्म ओलीले उनलाई स्वास्थ्यमन्त्री बनाएका थिए।
खासगरी डा.गोविन्द केसीको अभियानप्रति उनी अनुदार देखिन्छन्। २०७४ सालको पुसमा भएको एउटा सार्वजनिक कार्यक्रममा ‘गोविन्द केसीलाई मर्न दिनुपर्ने’ तर्क गरेपछि अधिकारी विवादित बनेका थिए।
२०७४ मा निर्वाचित भएपछि नेता अधिकारी एमालेको प्रमुख सचेतक बनेका थिए। पछि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा बनेपछि उनी प्रमुख सचेतकबाट हटेका थिए। उनी २०५१ मा पनि एमालेको संसदीय दलको सचेतक बनेका थिए। संसदमा आफ्नो कुरा प्रष्ट राख्ने र विपक्षीमाथी कडा प्रतिवाद गर्ने स्वभावका कारण पनि चर्चित छन्।
पूर्वस्वास्थ्यमन्त्रीका रुपमा उनी स्वास्थ्य–शिक्षाका विषयमा सतहमा आएका कतिपय सन्दर्भबारे मुखरित हुने गरेका छन्। खासगरी डा.गोविन्द केसीको अभियानप्रति उनी अनुदार देखिन्छन्। २०७४ सालको पुसमा भएको एउटा सार्वजनिक कार्यक्रममा ‘गोविन्द केसीलाई मर्न दिनुपर्ने’ तर्क गरेपछि अधिकारी विवादित बनेका थिए।
पार्टी कमिटीमा अहिले उनी एमालेका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य छन्। नवौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा पराजित भएका थिए। पछि एमाले र माओवादी केन्द्रको एकीकरण भएपछि एमालेबाट थपिएका ३८ जना केन्द्रीय सदस्यमा उनी पनि समेटिएका थिए। तर, आठौं महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य र पोलिटब्यूरोमा निर्वाचित भएका थिए।
अधिकारीले 'माया मारेको मान्छे' आत्मकथा पनि लेखेका छन्। उनले उक्त आत्मकथामा आफ्नो राजनीतिक जीवन, पार्टीमा भएका टुटफुट लगायतका विषयहरुसमेत उल्लेख गरेका छन्।