काठमाडौं– नेपालमा २००८ सालदेखि औपचारिक रुपमा बजेट ल्याउन थालिएको हो। २००७ सालमा प्रजातन्त्र आएपछि तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारले नेपालको समग्र आय र व्यय विवरण बजेट बनाएर संसद्मा प्रस्तुत गरेको थियो।
बजेट तत्कालीन अर्थमन्त्री सुवर्णशमशेर राणाले संसद्मा पेस गरेका थिए भने बजेटको ड्राफ्ट तत्कालीन अर्थ सचिव हिमालयशमशेर जबराले गरेका थिए।
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नरसमेत रहेका हिमालयशमशेर राणाले पहिलो बजेट सार्वजनिक गर्दा निकै कठिनाइ भोग्नुपरेको स्मरण गरेका छन्। उनले नेपाल समयसँग भने, ‘नेपालमा प्रजातन्त्र आइसकेको थियो। प्रजातान्त्रिक सरकार भएकाले जनतालाई देशको आयव्यय विवरण थाहा पाउनु जरुरी छ भन्ने सोचेर हामीले बजेट बनाउन थाल्यौं। मुलुकको आयव्ययको विवरणबारे कुनै पनि अभिलेख राम्रोसँग राखिएको थिएन। त्यसैले आय र व्ययको तथ्यांक थाहा पाउन निकै कठिन भएको थियो।’
नेपालको आम्दानी दुई करोड ९० लाख ८१ हजार रुपैयाँ र खर्च २ करोड ४६ लाख ८७ हजार रपैयाँ खर्च थियो भने बचत ४३ लाख ९४ हजार रुपैयाँ देखिएको थियो।
बजेट प्रस्तुत गर्नु नै नेपाल आधुनिकीकरणतर्फ अघि सरेको पहिलो प्रमाण रहेको बताउँछन् राणा। उनी भन्छन्, ‘पहिलो बजेट ५ करोड २५ लाख रुपैयाँ बराबरको थियो।’ राणाका अनुसार राणा शासनमा कुनै योजना वा कामका निमित्त खर्चको निकासा हुँदा योजना कार्यान्वयन गर्ने वा खर्च गर्ने निकासा एकमुष्ट दिइन्थ्यो। परिणामस्वरुप खर्च नभई बाँकी पैसा तालुकवालाहरुको तजबिजमा रहन्थ्यो।
उनी भन्छन्, ‘पहिलो पटक बजेट बनाउने क्रममा हामीले अर्थ मन्त्रालयबाट बारम्बार तालुकवाला निकायलाई खर्च विवरणका लागि ताकेता गर्दा पनि यस्ता बाँकी रकमको राम्रो विवरण पाउन सकिएन।’ कति रकम उठिरहेको छ र कति उठ्न बाँकी छ भनेर यकिन नहुन नसकेको उनको भनाइ छ। राणाले भने, ‘बजेट बनाउन भोग्नुपरेका सम्पूर्ण कठिनाइ मैले अर्थसचिवका हिसाबले लेखिदिएको थिएँ।’
राणाका अनुसार तत्कालीन समयमा नेपालको आम्दानी दुई करोड ९० लाख ८१ हजार रुपैयाँ र खर्च २ करोड ४६ लाख ८७ हजार रपैयाँ खर्च थियो भने बचत ४३ लाख ९४ हजार रुपैयाँ देखिएको थियो।
उनले भने, ‘२००८ को आम्दानी तीन करोड पाँच लाख सोह्र हजार रुपैयाँ थियो। जुन २००७ सालको भन्दा १४ लाख ३५ हजार रुपैयाँ बढी थियो।’
नेपालको पहिलो बजेट