काठमाडौं– २३ वर्षमा उनले करिब तीन सय नेपाली सिनेमामा काम गरे। र, ती सिनेमाहरुमा फरक–फरक कलाकारहरुले फरक–फरक जीवन बाँचे।
कतिपय फिल्ममा कलाकार दोहोरिए होलान्, तर उनीहरुको भूमिका दोहोरिएन। तर, राजु फुयाँल यस्ता एक पात्र हुन्, जो सधै नेपाली सिनेमामा उही भूमिकामा छन्। र, जसले सधैँ उही जीवन बाँचिरहेका छन्, अर्थात् ‘स्पटब्वाय।’
फरक यति हो, ब्ल्याक एन्ड ह्वाइट होस् या रंगीन, सिनेमाको पर्दामा उनको थाकेको अनुहार कहिल्यै देखिएन। पर्दापछाडि रहेरै काम गर्नु सिनेमामा उनको भूमिका भइदियो।
यसरी आफ्नो तीन दशक नेपाली सिनेमामा समर्पित गरेका राजु कोरोना महामारीको दोश्रो लहर सुरु भएसँगै यतिखेर तनावमा छन्। सहरमा लागेको निषेध आदेश अब सडकमा मात्रै सिमित छैन, उनको चुल्होसम्म पुगिसक्यो।
घरमा ग्यास र चामल सकिएपछि उनी अचेल खाना खान नजिकै बस्ने भाइको डेरामा धाउन थालेका छन्। ‘चार–पाँच हजार पैसा भए पनि यसो ग्यास भर्नु हुन्थ्यो, चामल किन्नुहुन्थ्यो। तर जुटिरहेको छैन। तीन–चार दिन यता फोन त घुमाइरा’छु। हेरौँ, कसैले दिन्छ कि !’ उनी आशावादी सुनिन्छन्।
त्यसो त उनलाई अरुसँग ‘हात फैलाउने’ रहर त छैन। निर्माताले काम गरेको पैसा दिए त अहिलेको संकट त्यसैले टार्छु भन्ने छ। तर, के गर्ने निर्माता पैसा दिँदैनन्।
६ महिना भइसक्यो उनले ‘हिँड्दाहिँड्दै’ फिल्ममा काम गरेको। तर, अहिलेसम्म पैसा नपाएको गुनासो गर्छन्। ‘१० हजार पैसा लिनुपर्ने छ,’ उनी भन्छन्, ‘प्रोड्युसरलाई धेरैपल्ट फोन गरेर समस्या सुनाइसकेँ, पर्खिनुमात्रै भन्छन्, पैसै दिँदैनन्।’
राजुका अनुसार फिल्म प्राविधिकलाई पैसा झुलाउनु फिल्म क्षेत्रको पुरानै रोग हो। ‘कलाकारले लाखलाख पैसा लिन्छन्, त्यही पनि नगदमा,’ राजु गुनासो पोख्छन्, ‘तर, हामी स्पटब्वाय त हजारमै खट्छाै, त्यही पनि बाँकी राख्छन्। किन होला है, अचम्म लाग्छ !’
राजुलाई कहिलेकाहीँ त लाग्छ– यो फिल्म क्षेत्र नै छाड्दिम्। अघिल्लो लकडाउनमा त उनी पेशा परिवर्तन गर्ने मुडमै पुगिसकेका थिए। फिल्म क्षेत्र ठप्प भएपछि केही दिन त उनले घर निर्माणको काम पनि गरे। तर, वर्षौदेखि गरी आएको काम न हो। स्थिति सामान्य हुँदै गएपछि फेरि पुरानै काममा फर्किए। तर, कोरोनाको दोश्रो लहर सुरु भएपछि फेरि उनमा तनाव थपिएको छ।
अहिले पनि कसैले फोन गर्यो भने उनी जिज्ञासा राखिहाल्छन्, ‘केही काम छैन सर ? म त जस्तोसुकै काम भएपनि गर्न तयार छु। जसरी पनि छाक त टार्नुपर्यो नि !’
पहिलो फिल्मसँग जोडिँदाको प्रसंग हो। ११ वर्षका थिए, राजु। उनी ६ वर्षको हुँदा उनका बुबाले घर छाडेर गए। त्यसपछि आमासँग बसेका उनलाई पनि स्कुल जाने मन नभएको होइन। तर, कमजोर आर्थिक अवस्थाका कारण उनी पढाइबाट वञ्चित हुन पुगे।
डिल्लीबजारस्थित पुरानो झुप्रो घरमा बस्थे उनी। घरनजिकै निर्माता गोपाल कर्माचार्यको घर थियो। त्यही घरमा बस्थे, अनवर खान। उनी सिनेमामा क्रेन चलाउँथे, क्यामेराको रेखदेख गर्थे।
घर छेउमा काम नपाएर टोलाइरहेको देखेपछि अनवरले एकदिन राजुलाई सोधे, ‘भाइ, काम गर्छौ त ? नगरकोटमा ‘अनुराग’ फिल्मको सुटिङ छ। ५० दिनको ३ हजारमा जान्छौ त ?’
‘हुन्छ, गइहाल्छु नि,’ राजुलाई त ढुंगा खोज्दा देउतै भेटेजस्तो भयो। त्यसदिनयता आजसम्म राजु अनवरलाई आफ्नो गुरु मान्छन्।
त्यो फिल्मको सुटिङमा भान्सा व्यवस्थापक आनन्दबहादुर गुर्माछाने मगर आइरहन्थे। फिल्म क्षेत्रमा ‘नन्दु दाइ’का रुपमा प्रिय उनी राजुलाई जिस्काइरहन्थे– ‘चिया पकाउन त आउँछ नि?’ राजु जवाफ दिन्थे, ‘अहँ, आउँदैन, सिकाइदिनु न।’ उनै ‘नन्दु दाइ’ले आफूलाई चिया पकाउन सिकाएर राजु सम्झन्छन्।
पहिलो फिल्ममा काम गर्दा बच्चै थिए, राजु। तैपनि फिल्मसँग जोडिएका केही स्मृति उनले भुलेका छैनन्। फिल्मको सुटिङ नगरकोटमा भइरहेको थियो। खाली खुट्टै पुगेका थिए उनी। हाफ पाइन्टमात्रै लगाएका थिए।
फिल्मका प्रमुख कलाकारहरु थिए, शिव श्रेष्ठ र विपना थापा। पहिलोपल्ट आँखैअगाडि हिरोहिरोइन देखेर दंग थिए। कठ्याङग्रिदो जाँडोमा उनको हालत देखेर फिल्मका निर्देशक नारायण पुरीले उनलाई सुझाएका थिए, ‘तँ चप्पल पनि लाउँदैनस्, चप्पल लाएर काम गर्नुपर्यो नि। अनि, हाफ कट्टु किन? जाँडोमा त बाक्लो कपडा र जुत्ता लाउनुपर्छ है।’
जवाफमा उनले भावुक हुँदै भनेका थिएँ, ‘म त माली गाउँमा भाँडा माझेको मान्छे, सर! कपडा र जुत्ता किन्ने पैसा कहाँबाट ल्याउनु?’
उनलाई सुनिरहेकी डबिङ आर्टिस्ट थिइन्, अञ्जु देउजा। नयाँ कपडा किन्नु भन्दै उनको हातमा एक हजार रुपैयाँ थमाइदिइन्। ‘अनि त्यसैले कपडा किनेँ,’ त्यसैले होला, राजु आजसम्म पनि लिइरहन्छन् ‘अञ्जु दिदी’को नाम।
०००
राजु अहिले श्रीमती र छोरासहित काठमाडौंस्थित कालिकास्थानमा बस्छन्। उनकी आमा र भाइ नजिकै डिल्लीबजार बस्छन्। सधै उही भूमिकामा काम गरिरहेका राजुलाई पनि कहिलेकाहीँ लाग्छ– फिल्मको डाइरेक्टर हुन पाएँ !
आफूले ‘पाहुना’ फिल्ममा काम सिकाउन लिएर आएका हरि हुमागाईं आज नेपाली सिनेमाका कहलिएका सिनेम्याटोग्राफर भइसकेको बताउँदै उनी भन्छन्, ‘सानोमा मलाई सम्झाउने मान्छे नै भएनन्। नत्र म पनि पढ्थेँ नि। मलाई डिरेक्टर हुने मन थिएन होला र! तर, खुशी लाग्छ मसँगै काम सिकेको हरि आज चल्तीको सिनेमाटोग्राफर भयो।’
पछिल्लोपल्ट दीपक–दीपाको ‘छ माया छपक्कै’मा दुवैले सँगै काम गरे। भलै भूमिका फरक थियो। राजु उही स्पटब्वाय थिए भने हरि छायाकार। ‘तर, सुटिङमा गुरुबा भनेर इज्जत दियो है, साह्रै खुशी लाग्यो,’ राजु मुसुक्क हाँस्छन्।
स्पटब्वायका सुख–दुःख
राजुले चल्तीका प्रायः कलाकारसँग काम गरिसकेका छन्। राजेश हमालदेखि अनमोल केसीसम्म, गौरी मल्लदेखि स्वस्तिमा खड्कासम्म। प्रायः कलाकारलाई सुटिङ स्थलमा चिया खुवाइसकेका छन्।
तर, उनलाई अभिनेता रमित ढुंगाना साह्रै प्रिय लाग्छ रे! किन ? भन्छन्, ‘राजु दाइ कति खटेको हौ’ भन्नुहुन्थ्यो। रिचार्ज हाल्नु भनेर हजार रुपैयाँ पनि दिनुहुन्थ्यो।’ राजेश हमालले चियाको तारिफ गरेको पनि उनी अझै सम्झन्छन्। नगरकोटमा ‘गाउँले’ फिल्मको सुटिङ भइरहेको थियो। हमालले उनलाई छेउमा बोलाएर भनेछन्, ‘राजुजी, तपाईं त मिठो चिया बनाउनुहुन्छ रे! ल बनाउनुस् त।’
पछि चिया पिइसकेर हमालले दिएको प्रतिक्रियाले उनी आज पनि दंग सुनिन्छन्। ‘गुड! भनेर तारिफ गर्नुभएको थियो,’ उनी सुनाउँछन्।
फिल्म क्षेत्रमा राजु सोझा, इमान्दार र मिहिनेती स्पटब्वाय (स्थल सहयोगी)का रुपमा चिनिन्छन्। ‘छक्कापन्जा’, ‘नाइ नभन्नु ल’, ‘हामी तीन भाइ’, ‘सुःखदुःख’ लगायत चल्तीका फिल्ममा उनको योगदान छ।
निर्माताहरुका लागि निकै सहज छन्, उनी। दिनको १२ सय दिए पनि खुसी हुन्छन्, एक हजार दिए पनि चित्त बुझाउँछन्। भन्छन्, ‘निर्मातालाई पनि दुःखै छ, त्यसैले भाउ खोज्न मन लाग्दैन।’ तर, त्यही पैसा पनि समयमा पाइएन भने मन दुख्छ उनको। ‘सायद मेरोमात्रै होइन, त्यतिबेला सबै प्राविधिकको मन दुख्छ,’ उनी भन्छन्।
राजुको नजरमा ‘स्पटब्वाय’को काम सजिलो छैन। घामछाया, चिसोगर्मी नभनीकन खट्नुपर्छ। कहिलेकाहीँ कलाकारले छाता किन नओढाएको भनेर गाली गर्दा खुब रिस उठ्छ उनलाई। उल्टै प्रश्न गर्दिन्छन्, ‘खोइ त छाता किन्देको?’
अझ उनलाई त छाता स्पटब्वायले भन्दा पनि ड्रेसम्यानले ओढाउनुपर्ने भन्ने लाग्छ। ‘खासमा छाता ड्रेसम्यानले ओढाउने हो, स्पटब्वायले होइन,’ उनी हल्का आक्रोशित सुनिए, ‘भोजपुरी फिल्ममा काम गर्दा त त्यहाँ ड्रेसम्यानले नै ओढाएको देखेको थिएँ। नभ्याएको बेला स्पटब्वायले ओढाउनु छुट्टै कुरा हो। नत्र सबै काम स्पटब्वायले गर्ने होइन नि। स्पटब्वायको काम त कुर्सी ल्याएर ठ्याक्क राखिदिने। चिया पानी खुवाउने। क्यामेराम्यानले भनेअनुसार सुटिङस्थल सफा गरिदिने पो हो त।’
अहिलेको तुलनामा पहिलेका स्पटब्वायलाई निकै गाह्रो भएको उनी सुनाउँछन्। समयमा पानी पुर्याएन भने डाइरेक्टरले कराएको अनुभव उनीसँग छ। ‘पहिले त हातमा मोबाइल थिएन। जारको पानी पाइन्थेन। सिल खोलेको मिनरल वाटरको बोतल लिएर गयो भने धाराको पानी लिएर खुवाइस् कि क्या हो भन्थे। सिल किन खोलेको भनेर हप्काउँथे,’ उनी सम्झन्छन्।
राजुका अनुसार उनी अहिले जाँडरक्सी खाँदैनन्, त्यसैले धेरै निर्माताका प्रिय छन्। ‘कुनै डिरेक्टरले गाँजा खान्छन्। त्यसैले गाँजा खाने नै राख्छन् स्पटब्वाय,’ उनी सुनाउँछन्, ‘म पनि पहिले खान्थे, अहिले खान छोडेँ। गुरुबा शंकर पाण्डे र सुरज आचार्यले सम्झाएपछि छाडेको हुँ।’
बीचमा एक महिना उनले खुब रक्सी खाए। त्यतिबेला कोही पनि निर्माताले उनलाई काममा लिएनन्। त्यसपछि उनले रक्सी छाडे र फेरि सबैको प्रिय भएको बताउँछन्।
राजुको अनुभवमा सुटिङ सेटमा कुर्सी किन ल्याइनस् भनेर थर्काउने कलाकार पनि छन्। नाम त लिँदैनन् उनी तर भन्छन्, ‘त्यतिबेला कम रिस उठ्छ राजु फुयाँललाई। तर, के गर्नु सहनुपर्छ।’
उनलाई लाग्छ– सुटिङ सेटमा प्राविधिकहरु भनेको सहनशिलताको अर्को नाम पनि हो। कलाकारले कुर्सी खोइ भन्दै थर्काएपनि सहनुपर्छ। निर्देशकले पानी किन नल्याएको भन्दै हप्काएपनि सहनुपर्छ। र, हुँदाहुँदा निर्मातालाइ यसरी सहेर गरेको कामको पैसा खोइ भनेर माग्दा ‘अहिले छैन’ भन्ने जवाफ आयो भने पनि सहनुपर्छ।
‘तर, सत्यचाहिँ के हो भने हामी स्पटब्वायहरु अन्तिमसम्म पनि फिल्मसँगै हुन्छाै,’ राजु भन्छन्, ‘कलाकारहरु टेक दिएर घर फर्किएपछि पनि हामी सुटिङस्थलमै हुन्छाै। स्पटमा लथालिंग भएका सामानहरु मिलाइरहेका हुन्छौँ। चियाका कप र पानीका बोटलहरु उठाइरहेका हुन्छाै। सुटिङ गरेर फोहोर भएको स्थललाई हामी फेरि उस्तैै चिटिक्क बनाइरहेका हुन्छाै।’
र, सुटिङ स्पटलाई यसरी उज्यालो बनाउने राजुको घरको चुल्हो आज निभेको छ। निरन्तरको महामारी र लकडाउनले उनको निद हराम गरेको छ। र, फोनकै भरमा किन नहोस्, सहरमा उनी सोधी हिँड्दैछन् ‘कोही छ त मेरो चुल्हो बाल्दिने?’