आइतबार, जेठ २५, २०८२

'ठूला माछा'विरुद्ध अख्तियारको एक्सन

 |  आइतबार, जेठ २५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०८२

vianetvianet

काठमाडौं- पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्धको अनुसन्धान र अभियोजनमा निकै सक्रियता देखाएको छ।

पछिल्लो सातामात्र अख्तियारले विशेष अदालतमा सात वटा मुद्दा दायर गर्‍यो। पाँच दिनमा सातवटा मुद्दा दर्ता भएका हुन्। आइतबार भोटो जात्राको बिदा भएकोले कुनै मुद्दा दर्ता भएनन्।

सोमबार, मंगलबार र बुधबार एक-एक वटा मुद्दा दर्ता गरेको अख्तियारले बिहीबार र शुक्रबार दुई-दुई वटा मुद्दा दर्ता गराएको थियो। 

यसैगरी साताको पहिलो दिन आज आइतबार एकैदिन तीनवटा मुद्दा दर्ता भएका छन्। जेठ महिना लागेपछि अख्तियारले १८ वटा मुद्दा दर्ता गरेको छ। यसमा उच्चपदस्थ व्यक्तिहरु र अर्बौं रुपैयाँ बिगो भएका मुद्दासमेत छन्। आयोगले केही दिनमा अरु केही उच्चपदस्थ व्यक्तिहरुविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाउने तयारी गरेको बताइएको छ।

गत बिहीबार दर्ता भएको मुद्दाले भने निकै चर्चा पाएको छ। किनकी पहिलो पटक मन्त्रिपरिषद्‍को निर्णयमा अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको छ र पूर्वप्रधानमन्त्री प्रतिवादी बनाइएका छन्।

National life insurance

पतञ्जली योगपीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको र उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा प्रतिनिधि सभाका बहालवाला सदस्य तथा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसमेत ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको हो।

मुद्दामा बहालवाला मेयर, तत्कालीन मन्त्रीहरू, सचिवलगायतलाई प्रतिवादी बनाइएको छ। भारतीय कम्पनी पतञ्जलीले नेपालमा औद्योगिक प्रयोजनमा प्रयोग गर्नेगरी काभ्रेमा हलबन्दीभन्दा बढी जमिन खरिद गर्ने अनुमति पाएको थियो। उसले जग्गा किनेर तत्कालै बेच्ने अनुमति पनि पायो। त्यसरी जग्गा बेच्ने अनुमति दिँदा राज्यलाई हानि भएको अख्तियारको ठहर छ। कानुनअनुसार हदबन्दीभन्दा बढी जग्गा जुन प्रयोजनका लागि किन्ने वा राख्ने स्वीकृति पाएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्नुपर्छ। अरू प्रयोजनमा प्रयोग गरे सरकारी स्वामित्वमा जान्छ। तर, माधव नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलीले हदबन्दीभन्दा बढी जमिन किनेर अर्कै प्रयोजनका लागि बेच्ने स्वीकृति पाएको देखिएको छ।

अख्तियारले एक दशकभन्दा बढी समयसम्म थन्क्याएर राखेको फाइल खोलेर टुंगोमा पुर्‍याएको हो। रवि लामिछाने गृहमन्त्री हुँदा पतञ्जली जग्गा प्रकरणको फाइल खोलिएको थियो| उनले यसबारे पदमै रहँदा संसद्‍लाई जानकारी गराएका थिए। अहिले उनी सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा छन्।

पतञ्जली जग्गा अनियमितता प्रकरणमा माधव नेपालमाथिको मुद्दाले अरु उच्चपदस्थ (प्रधानमन्त्री) माथि पनि अनुसन्धान गर्न मार्गप्रशस्त भएको छ।

गत साता मुद्दा चलाइएका अर्का हाइ प्रोफाइल हुन् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा सांसद दिर्घराज सोडारी । माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष हुन् भने सोडारी सोही पार्टीका नेता हुन्।

अख्तियारले सुदुरपश्चिम प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री सोडारीउपर १ करोड ८ लाख ३८ हजार रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

यसैगरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, टाइम्स रिपब्लिक मिडिया प्रालिका संस्थापक सदस्य, डच मिडिया प्रालिका निर्देशक, प्रभाव राष्ट्रिय दैनिक प्रालिका प्रबन्ध निर्देशकसमेत ५ जना र मिडिया प्रालि उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ। 

त्यस्तै, जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियासमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ।

गत साता नै अख्तियारले सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव उपर बिगो ६ लाख ७० हजार कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।

त्यस्तै, सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरु अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्लेसमेत ६ जना उपर कमिशन लिएको, गैरकानूनी लाभ तथा हानी, गैरकानूनी व्यापार व्यवसाय, सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।

यसैगरी जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी एवं गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।

आजमात्रै अख्तियारले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) संगिता पहाडी समेतका १८ जना उपर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना हानी नोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।

आज नै नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा कास्कीका प्रादेशिक प्रमुख चितरंजन दाससमेत ५ जना र तालचोक स्थित पश्चिमाञ्चल ट्रेडर्स उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।

यसैगरी नेपाल नमूना माध्यमिक विद्यालय, चितवनको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलसमेत ६ जना उपर नपाएको ओहदा पाएको भनी अधिकार दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ।

यही जेठ १ गते अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा अनियमितता भएको भन्दै पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबीसहित मुद्दा दर्ता भएपछि बस्नेतको सांसद पद निलम्बनमा परेको छ। उनी कांग्रेसका प्रभावशाली नेता मानिन्छन्।

लामो समयदेखि ठूला भ्रष्टाचार प्रकरणमा उच्चपदस्थ व्यक्तिहरूलाई जोगाएर ‘साना माछा’ लाई मात्रै कारबाहीको दायरामा ल्याएको आरोप खेप्दै आएको अख्तियारले अहिले एकपछि अर्को ‘हाइ प्रोफाइल’ व्यक्तिहरूविरुद्ध मुद्दा चलाएपछि जनमानसमा आशा जागेको छ।

अख्तियारले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोप्य ‘अन्डरकभर अपरेसन’ चलाएर भिजिट भिसाको ठूलो सञ्जालको पर्दाफास गरेको छ । यो प्रकरणको अनुसन्धानमा सहसचिव सहित गृह प्रशासनका उच्च अधिकारीहरू मुछिएका छन् । अनुसन्धानको सुई गृहमन्त्री रमेश लेखकसम्म सोझिएको चर्चा चलेपछि यो प्रकरणले संसद् नै बन्धक बनेको छ। 

प्रकाशित: Jun 08, 2025| 19:40 आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्