काठमाडौं- रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको छ। गत भदौ १० गते बिहान गएको अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एकहजार ४५३ जनाको मृत्यु भएको छ भने पाँच हजार ५५० जना बेपत्ता छन्। यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन्। बाढी प्रभावितको खोज, उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र तल्लीन छन्।
बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आँकलन गरिएको छ। उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ।
विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ।
सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ बगेका छन्।
यस्तै, ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। करिव सात हजार ५७० घरहरू प्रभावित हुँदा आठ हजार ३०० घरपरिवार र करिव ४० हजार जनसङ्ख्या प्रभावित भएका छन्।
बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ। त्यसैगरी, १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्।