काठमाडौं - लामो अन्तरसंघर्ष चलेको नेकपा एमाले विभाजनकै तहसम्म पुगेको थियो। बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट पक्षको नेतृत्व गरेका वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले एमालेभित्रको विवादले नयाँ मोड लियो। चार घन्टा लामो सघन छलफलले पार्टी विवाद मिलाउने समझदारी बन्यो।
शुक्रबार पुनः दुईजना नेता र उनीहरू निकटका स्थायी कमिटी सदस्यहरूसहित छलफल भयो। तर, उक्त छलफलमा ओलीले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’लाई पनि सहभागी गराए।
माधव नेपाल पक्षले बैठकमा नै आपत्ति प्रकट गर्याे। बादलको सहभागितालाई लिएर एमालेको आन्तरिक विवाद समाधानको प्रयास पुनः धकेलिएको छ।
शुक्रबार यता नेताहरूबीच कुनै छलफल र संवाद हुन सकेको छैन। एमालेको आन्तरिक विवाद समाधानमा ओलीले बादललाई पनि कार्यदलमा सहभागी गराउन खोजेपछि माधव-झलनाथ पक्ष सशंकित बनेको हो। ‘एमालेको समस्या समाधान गर्ने कार्यदलमा बादल बस्नु हुँदैन भन्ने हाम्रो प्रष्ट धारणा हो,’ माधव-झलनाथ पक्षकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘बादलकै कारणले समस्या देखिएको छ हुँदैन भनेपछि त उहाँलाई राख्नुभएन नि।’ बादललाई पनि कार्यदलमा राख्दा त ओलीले २०७५ जेठ २ मा फर्कन आनाकानी गरेको प्रष्ट हुने उनी बताउँछिन्।
शुक्रबार र शनिबार यो पक्षको भर्चुअल माध्यमबाट भएको केन्द्रीय सदस्यहरूसहितको छलफलमा पनि बैठकमा बादलको सहभागिताको विषयलाई लिएर केन्द्रीय सदस्यहरूले कडा आपत्ति जनाएका थिए। ‘नेता नेपालले राखेको ६ बुँदे मागलाई बटमलाइन बनाएर कार्यदलमा छलफल गर्न नेताहरूको सुझाव छ,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘बैठकमा बादललाई सहभागी गराएको विषय आपत्तिजनक छ।’
उनले कार्यदलमा बादललाई राखिए त्यो मान्य नहुने र एकता प्रयास भाँडिने बताए। नेतृ शाक्य पनि सहमतिका नाममा विगतमा पनि ओलीबाट धोका दिने काम भएको भन्दै अब झुक्किने र अलमलिने काम नहुने बताउँछिन्। ‘अब त पत्याउने कुरा हुँदैन। केन्द्रीय सदस्यहरूले मानिरहनुभएको छैन,’ उनले भनिन्, ‘माधव कमरेड र कार्यदललाई स्थायी कमिटी र केन्द्रीय कमिटीका साथीहरूले प्रष्ट भन्नुभएको छ। हजारौं कार्यकर्ता गोलबन्द भइसकेको अवस्था छ, देशभरि उहाँहरूलाई धोका दिन पाइँदैन।’
एमालेको माधव नेपाल पक्षले अदालतको फैसलाअनुसार २०७५ जेठ २ मा फर्किनुपर्ने र फागुन २८ यताका सबै निर्णय खारेज हुनुपर्ने बटमलाइन अघि सारेको छ।
तीनचार दिनभित्रमा नै टुंगो लाग्नुपर्छ
माधव-झलनाथ पक्षले कार्यदलले आन्तरिक विवाद समाधानलाई लम्बेतान गरेर समय खर्चिन नहुने प्रष्ट धारणा राखेको छ। स्थायी कमिटी र केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीले आफ्नो स्वार्थका लागि सहमतिका नाममा फेरि पनि धोका दिन सक्ने भएकाले चिप्ला कुरामा फस्न नहुने निष्कर्ष निकालेको छ।
‘तीनचार दिनभित्रमा विवाद समाधान हुने/नहुने कुरा सिध्यानुपर्छ भन्ने हाम्रो प्रष्ट धारणा छ,’ नेतृ शाक्य भन्छिन्, ‘लम्बेतान गरेर विश्वासको मत लिने रणनीति मात्रै हो भने त भोलि धोका हुन्छ। त्यसैले ढिलाइ गर्न हुन्न।’
उनले केपी ओली कम्युनिष्ट होला भन्नेमा अझै शंका रहेको भन्दै जेठ २ मा फर्किए पनि फेरि समस्या आउने बताइन्। ‘विगतमा पनि नेकपा हुँदा समस्या आएको हो। कार्यदल बनेर सहमति पनि भएकै थियो,’ उनले भनिन्, ‘तर, सहमतिको मसी नसुक्दै फेरि उस्तै प्रवृत्ति देखा पर्याे। त्यसैले अहिले पनि त्यस्तो नहोला भन्न सकिन्न। त्यसैले हामी यो पटक झुक्किएर बस्नेवाला छैनौं।’
ओली निकटका मानिसहरूले सञ्चारमाध्यममा बोलिरहेका कुराले पनि शंका उत्पन्न गराएको उनको बुझाइ छ। माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका साथीहरूलाई पार्टीमा जिम्मेवारी दिने कुरामा आफूहरूको आपत्ति नभएको भन्दै उनले ती सबै प्रक्रिया जेठ २ मा फर्केर नवौं महाधिवेशनका वैधानिक संरचना र कमिटीका बैठक बसेर गर्नुपर्ने बताइन्। ‘उहाँहरू आउँदा त स्वागत नै छ नि। जिम्मेवारी दिएर पार्टीलाई अगाडि बढाउने कुरामा विमति छैन,’ उनले भनिन्, ‘तर, त्यो विधि र प्रक्रियाअनुसार हुनुपर्याे भन्ने मात्रै हो।’
कार्यदलले पूर्णता पाएन
बिहीबार दुई नेताहरूबीचको समझदारीमा गठन गर्ने भनिएको कार्यदलले चार दिन बितिसक्दा पनि पूर्णता पाएको छैन। माधव-झलनाथ पक्षबाट कार्यदलमा सहभागी हुनेहरूको टुंगो लागिसकेको छ। तर, अध्यक्ष ओलीको तर्फबाट कार्यदलका सदस्यहरूको टुंगो लागेको छैन।
एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले शनिबार नै कार्यदलले पूर्णता पाउने बताएका थिए। ओलीले बादललाई समेत राख्न खोजेपछि समस्या देखिएको हो।
विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल र विष्णु रिमालको भने निश्चित भइसकेको छ। यी चारजनामा माधव-झलनाथ पक्षको कुनै आपत्ति रहेन। तर, बादलको सहभागिता मान्य नहुने बताइसकेको छ।
यता माधव-झलनाथ पक्षले भने नेताहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्तको नाम टुंगो लगाइसकेको छ। ओली निकट एक नेताका अनुसार सम्भवतः आज बादलको स्थानमा अर्को व्यक्तिलाई राखेर ओलीले कार्यदललाई पूर्णता दिने तयारी गरेका छन्।