आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • इन्भेष्टमेण्ट बैंकसँग मर्ज गर्ने हिमालयनको निर्णय, कसले किन्ला हबिबको सवा दुई अर्बको सेयर?

इन्भेष्टमेण्ट बैंकसँग मर्ज गर्ने हिमालयनको निर्णय, कसले किन्ला हबिबको सवा दुई अर्बको सेयर?

हिमालयन बैंकले गत शुक्रबार साँझ नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) सँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ।
 |  आइतबार, वैशाख २६, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, वैशाख २६, २०७८

vianetvianet

काठमाडौं– हिमालयन बैंकले गत शुक्रबार साँझ नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) सँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ। एनआईबीएलले भने पहिले नै हिमालयन बैंकसँग मर्जरमा जाने निर्णय गरिसकेको थियो। 

triton college

हिमालयन बैंकमा रहेको हबिब बैंक अफ पाकिस्तानको सेयर सम्बन्धी समस्या, अध्यक्ष तुलसीराम गौतम बिरामी तथा सञ्चालकहरुबीच नै स–साना कुरामा भएको मनमुटावका कारण हिमालयन बैंकले भने मर्जरमा जाने औपचारिक निर्णय गर्न सकेको थिएन।

गत शुक्रबार भने इन्भेष्टमेण्ट बैंकसँग मर्जरमा जाने सञ्चालक समितिले निर्णय गरेपछि हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंक बिग मर्जरमा जाने पक्का भएको हो। हिमालन बैंकसँग मर्जरका लागि हस्ताक्षर गर्न नेपाल इन्भेष्टमेण्टको तर्फबाट सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेले अख्तियारी पाएका छन् भने हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसीराम गौतम छन्। उनी कर्मचारी सञ्चयकोषका प्रशासक पनि हुन्। 

मर्जर कमिटी संयोजक भने हिमालयन बैंकका तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री रहेका सुनीलबहादुर थापा छन्। उनी हिमालयन बैंकका सञ्चालक पनि हुन् भने पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्। 

‘गत शुक्रबार औपचारिक निर्णय भए पनि केही बुँदाहरुको विषयमा भने मिलाउन बाँकी छ,’ हिमालयन बैंकका एक सञ्चालकले नेपाल समयसँग भने। उनका अनुसार हबिब बैंक अफ पाकिस्तानको सेयर कसरी मिलान गर्ने भन्ने विषयमा केही कुरा मिल्न बाँकी छ। हाल हिमालयन बैंकमा कर्मचारी सञ्चय कोष, राणा समूह (अशोकशमशेर राणा, हिमालय शमशेर), शशिकान्त अग्रवाल, श्रेष्ठ समूह (प्रचण्डमान, मनोजबहादुर श्रेष्ठ), खेतान समूह (पीपी खेतान, राजेन्द्र खेतान) लगायत लगानीकर्ता छन्। तीन समूहले किन्न नसकेको अवस्थामा मात्र हबिब बैंकको सेयर कर्मचारी सञ्चय कोषले किन्ने बताइएको छ। 

National life insurance

हाल डीडीए (ड्यु डेलियन्स अडिट) गर्दा हबिब बैंकको प्रतिसेयर २८२ रुपैयाँ ५० पैसा छ। हिमालयनमा हबिबको २० प्रतिशत सेयर छ। हाल हबिबसँग २ अर्ब १३ करोड ६८ लाख ८० हजार १६५ रुपैयाँबराबरको सेयर स्वामित्व छ। 

सम्पत्ति शुद्धीकरण निवारण विरुद्धको काम गरेको भन्दै फाइनान्सियल टास्क फोर्सले जरिवाना लगाएपछि सो बैंकले नेपालजस्ता साना देशको सेयर बिक्री गरी जरिवाना तिर्न लागेको पाइएको छ। 

हबिबको सेयर राणा, खेतान र श्रेष्ठ समूहले पूरै किन्न नसक्ने भए पनि यसमा कोषले पनि बाँकी आफूले किन्ने यसअघि नै जनाउ दिइसकेको छ। हबिबले जसरी भए पनि नेपाल छोड्ने भएपछि सस्तोमा सेयर बिक्री गर्नका लागि हिमालयन बैंकका अन्य समूहले पनि दबाब दिइरहेको छ। रिजाल एन्ड कम्पनीले गरेको डिडिए अनुसार हिमालन बैकको सेयर मूल्य २८२ रुपैयाँ ५० र नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर मूल्य २७९ रुपैयाँ निस्केको थियो। 

सो आधारमा हिमालयन र इन्भेष्टमेण्ट मर्ज हुँदा १ः१ को अनुपातमा हुनेछ। जसले लगानीकर्ताहरुलाई मर्का पर्दैन। तर बैंक भने साला–भिनाजु मिलेर सञ्चालन गर्नेछन्। हिमालयन बैंकका हालका सीईओ अशोक राणालाई नै सीईओ बनाउने कुरा पक्का भएको छ भने नातामा राणाका आफ्नै भिनाजु पृथ्वीबहादुर पाँडे मर्जपछि बन्ने बैंकको अध्यक्ष हुनेछन्। हालका इन्भेष्टमेण्ट बैंकका सीईओ ज्याति पान्डे भने डेपुटी सीईओ बन्ने छन्। 

स्रोतका अनुसार पाण्डेलाई डेपुटी सीईओमा राख्नका लागि ठूलै कसरत गर्नुपरेको थियो। कर्मचारीको सेवासुविधा भने इन्भेष्टमेण्ट बैंकको भन्दा हिमालयन बैंकको राम्रो रहेको हुँदा हिमालयनकै कर्मचारी विनियावली प्रयोग हुनेछ। मर्जपछि बन्ने बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेण्ट बैंक रहने सहमति भइसकेको छ। 

तत्काल मर्जको लागि सम्झौता भएमा सेयर कारोबार रोक्का हुने भएकोले हबिबको सेयर मिलानपछि मर्ज सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिरहेको दुवै बैंकले जनाएका छन्। नेपाल इन्भेष्टमेण्ट बैंक भने हिमालयन बैंकसँग मर्जका लागि पूर्ण तयार भएर बसेको धेरै भइसकेको छ। हिमालयन बैंकका कारण मात्र मर्जका लागि सम्झौता भएर सैद्धान्तिक सहमति लिन ढिला भएको हो। 

‘विवाहका लागि एक पक्ष तयार भएर बसेको लामो समय भएको छ। तर अर्को पक्षलाई तयार हुन कठिन भएको मात्र हो,’ इन्भेष्टमेण्ट बैंकका एक सञ्चालकले ठट्टा गर्दै भने, ‘विवाह भोज खानेलाई भने हतार भइसकेको छ।’

प्रकाशित: May 09, 2021| 14:23 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्