काठमाडौं– मध्य भोटेकोसी जलविद्युत् कम्पनीले स्थानीय बासिन्दाको लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) स्थगित गरेको छ।
कोरोनाका कारण प्रशासनले जिल्लाभर निषेध आदेश जारी गरेपछि स्थानीय बासिन्दाका लागि भनेर खोलिएको आईपीओमा स्थानीय नै सहभागी हुन नपाउने भएपछि कम्पनीले बिक्री प्रबन्धकसँगको सल्लाहमा आईपीओ केही समयको लागि स्थगित गरेको हो।
वैशाख २१ गतेदेखि स्थानीय बासिन्दाको लागि खुला गरिएको आईपीओमा २१, २२ र २३ गते भने स्थानीय बासिन्दाले आवेदन दिएका थिए। मध्य भोटेकोसी जलविद्युत् आयोजनाले जारी गरेको आईपीओको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार आईपीओ रद्दका लागि आयोजनाले पत्र पठाइसकेको छ। भोलि शुक्रबारदेखि आयोजनाको आईपीओ रद्द हुनेछ। कोरोना संक्रमणको अवस्था हेरेर पुनः खोलिने ढकालले जानकारी दिए।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार कोरोना संक्रमण बढ्दै जाँदा आईपीओ स्थगित गर्नका लागि बोर्डले जारी गर्नुभन्दा पहिले नै मौखिक सल्लाह दिएको थियो। तर आयोजनाले भने आश्वा, इसेवा लगायत अनलाईन प्लेटफर्मको प्रयोग गरेर आईपीओ भरिने बताएको थियो।
बोर्डका अनुसार कम्पनीले आईपीओ जारी गर्नका लागि अनुमति पाएको दुई महिनाभित्रमा गरिसक्नुपर्ने प्रावधान छ। मध्य भोटेकोसी जलविद्युत् आयोजनाले वैशाख ५ गते स्थानीय बासिन्दाको लागि आईपीओ जारी गर्ने अनुमति पाएको थियो।
