बुटवल– लुम्बिनी प्रदेशमा नेकपा (एमाले) का एक जना सांसदले राजीनामा दिएपछि मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति विवादमा परेको छ।
आफूसँग प्रदेश सभाका बहुमत सदस्य रहेको दाबी गरेपछि आज दिउँसो उनी मुख्यमन्त्री नियुक्त भएका छन्। तर, उनलाई समर्थन गरेका भनिएकै सांसदले राजीनामा घोषणा गरेका छन्।
राजीनामा दिनेमा दीर्घनारायण पाण्डे छन्। सामाजिक विकास समितिका सभापतिसमेत रहेका पाण्डेले पछिल्लो राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै सभामुखसमक्ष राजीनामा बुझाएको बताएका छन्। पाण्डेले सभामुखलाई बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिदेखि लागू हुने गरी प्रदेशसभा सदस्य पदबाट राजीनामा पेश गरेको छु।’
पाण्डेले आफूलाई कसैले उचालेर वा आश्वासन दिएर राजीनामा नदिएको बताउँदै राजनीति जनताको पक्षमा नभएकाले राजीनामा दिएको बताएका छन्। उनले आफू स्वतन्त्र भएर बस्ने बताए। ‘म अबदेखि एमाले पार्टीमा पनि छैन, सांसदमा पनि छैन,’ उनले नेपाल समयसँग भने।
उनले पार्टी र सरकार मधेशका मुद्द र जनताको सवालमा केन्द्रित नभएको आरोप लगाए। सभामुख पूर्णबहादुर घर्तीले सांसदहरुको राजीनामा स्वीकृत गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएको पत्र पठाएको केहीबेरमै सांसदहरुको राजीनामा आएको हो।
उता, दाङबाट निर्वाचित विमला खत्री वलीले पनि उपनिर्वाचनमा नेकपाबाट लडेको र हाल माओवादी केन्द्र रोजेको बताएकी छन्।
एमालेका एक सांसदको राजीनामा र वलीको पार्टी परिवर्तनपछि शंकर पोखरेललाई बहुमत पुर्याउन गाह्रो पर्ने देखिएको छ। सरकारका लागि ४१ सदस्य आवश्यक पर्नेमा उनीसँग अब ३७ जनामात्र हुने भएका छन्।
यसैबीच, नेपाली कांग्रेस, माओवादी र जसपाका ४२ जना सांसदले हस्ताक्षरसहित मुख्यमन्त्री पाेखरेलकाे नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन्। मुख्यमन्त्रीले हस्ताक्षर किर्ते गरेको आरोप उनीहरुको छ। कुनै हालतमा पनि मुख्यमन्त्रीकाे शपथ हुन नहुने अडान विपक्षीकाे छ।