काठमाडौं - चाँगुनारायण नगरपालिकाले एक सय बेडको आइसोलेसन चलाउने निर्णय गरेको छ। कोरोना महामारीको दोस्रो लहर न्यूनिकरणका लागि नेपाल इन्जिनियरिङ कलेजमा आइसोलेसन चलाउने निर्णय भएको मेयर सोमप्रसाद मिश्रले बताए।
होम आइसोलेसनको व्यवस्था नभएकाहरूका यो सेवा उपलब्ध हुने उनले बताए। 'लक्षण नभएको संक्रमितलाई घरमा बस्न मिल्ने अवस्था नभए। एउटै रुम भए। ट्वाइलेट बाथरुम साँझा भए हामी त्यस्ता व्यतिलाई आइसोलेसनमा राख्ने छौं', उनले भने, 'कर्मचारी र विद्यार्थीहरूको प्राय यता घर हुँदैन। उनीहरूले अप्ठ्यारो खेप्न पर्ने हुनसक्छ। त्यस्ता बिरामीका लागि हामीले आइसोलेसन तयार गरेका हौं।'
आइसोलेसनमा रहेको बिरामी गम्भीर भए तुरुन्तै अस्पताल लगिने उनले बताए। १४ दिन आइसोलेसनमा राखिसकेपछि संक्रमितलाई घर पठाइने उनी बताउँछन्।
स्वास्थ्यकर्मीको टोलीले नियमित संक्रमितको निगरानी गर्ने व्यवस्था मिलाइएको मेयर मिश्रले बताए। खाने कुराको व्यवस्था क्यान्टिनमा मिलाइएको र त्यसका लागि आफैले पैसा तिर्नुपर्ने उनले बताए।