काठमाडौं– लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ।
कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ साहले आज आइतबार दिउँसो १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।
आजमात्रै राजीनामा दिएर कामचलाउ बनेका मुख्यमन्त्री पोखरेलले आज दिउँसो १ बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न आजै सिफारिस गरेका थिए।
मुख्यमन्त्रीको राजीनामा आएकाले संसदको बिजनेस नभएको भन्दै अधिवेशन अन्त्य गरिएको कामचलाउ मन्त्री बैजनाथ चौधरीले बताए।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। वैशाख ६ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन माग भएपछि आइतबार विशेष अधिवेशन आह्वान गरिएको थियो।
अविश्वासको प्रस्तावकै विषयमा छलफल गर्न आह्वान गरिएको विशेष अधिवेशन मुख्यमन्त्रीले नै राजीनामा दिएपछि अन्योल बढेको थियो।
