मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जोखिम भत्ता नपाएका सुरक्षाकर्मी फेरि अग्रपंक्तिमा, यस्तो छ तीनवटै निकायको तयारी

Siddartha premir insuranceSiddartha premir insurance

जोखिम भत्ता नपाएका सुरक्षाकर्मी फेरि अग्रपंक्तिमा, यस्तो छ तीनवटै निकायको तयारी

गत वर्ष सरकारी आश्वासन पाएर पनि जोखिम भत्ताबाट वञ्चित सुरक्षाकर्मी अहिले पनि अग्रपंक्तिमा खटिएका छन्। राज्यले भत्ता नदिए पनि आफूहरू दायित्वबाट नपन्छिने उनीहरूको भनाइ छ। 
 |  बिहीबार, वैशाख १६, २०७८
nespernesper

बीपी अनमोल

बीपी अनमोल

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं-  गत वर्ष सरकारी आश्वासन पाएर पनि जोखिम भत्ताबाट वञ्चित सुरक्षाकर्मी अहिले पनि अग्रपंक्तिमा खटिएका छन्। राज्यले भत्ता नदिए पनि आफूहरू दायित्वबाट नपन्छिने उनीहरूको भनाइ छ। 

triton college

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि तीन वटै सुरक्षा अंग जिम्मेवारीमा खटिएका छन्। नेपाली सेनाले उपत्यकासहित देशका नौ स्थानमा होल्डिङ सेन्टर स्थापनाको जिम्मेवारी लिएको छ। 

नेपाल प्रहरीले नागरिकको सुरक्षा, निषेध आदेश पालना गराउनेदेखि लिएर सचेतनामूलक कार्यक्रम र मापदण्ड नमान्नेलाई कारबाही गर्न थालेको छ भने सशस्त्र प्रहरी बलले सीमा सुरक्षासँगै स्वास्थ्य सामग्रीसहितका अत्यावश्यक वस्तुको ढुवानी र सुरक्षा प्रदान गरिरहेको छ।

सशस्त्र प्रहरी बलका एक कर्मचारी भन्छन्, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर ड्यिुटीमा खटिएका छौं। राज्यले आश्वासन दिएर पनि भत्ता दिदैन। पहिलो चरणकै भत्ता पाएनौं। अब त के आस गर्नु?’

मन्त्रिपरिषद्ले २०७७ चैत ९ गते कोरोना महामारी रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिने सुरक्षाकर्मीलाई जोखिम र प्रोत्साहन भत्ता दिने निर्णय गरेपछि चैत ११ गतेदेखि सुरक्षाकर्मीहरू फिल्डमा खटिएका थिए। तर उनीहरुले अहिलेसम्म जोखिम र प्रोत्साहन भत्ता पाएका छैनन्। 

Metro Mart
vianet

जोखिम भत्ता नपाएर निराश बनेका सुरक्षाकर्मी कोरोना भाइरसको दोस्रो महामारी फैलिएपछि फेरि अग्रपंक्तिमा खटिएका छन्। जोखिम उच्च हुँदै गएपछि वैशाख १६ गतेदेखि देशका अधिकाशं क्षेत्रमा निषेध आदेश जारी भएको छ। 

गत वर्ष पनि सुरक्षा निकायका झन्डै २० हजार जनशक्तिलाई कोरोना भाइरस संक्रमण भएको थियो। 

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल पहिलो चरणको जोखिम भत्ता नपाए पनि राज्यले आवश्यक ठानेको समयमा दिने विश्वास गर्छन्। उनी भन्छन्, ‘यस विषयमा धेरै नबोलौं। पहिलो चरणमा तथ्यांक पठाइसकेका थियौं। प्राप्त भएको छैन। 

नौ ठाउँमा होल्डिङ सेन्टर स्थापना गर्दै नेपाली सेना

मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेनाले उपत्यकासहित देशका नौ स्थानमा होल्डिङ सेन्टर स्थापनाको जिम्मेवारी लिएको छ। 

प्रवक्ता पौडेलले भने, ‘जमिन उपलब्ध भएका ठाउँमा होल्डिङ सेन्टर स्थापनामा जुटेका छौं।’ होल्डिङ सेन्टर नेपाल–भारत सीमानाकामा स्थापना भइरहेको उनले बताए। 

उनका अनुसार झापाको काँकड्भिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी र उपत्यकामा राधास्वामी सतसंगमा होल्डिङ सेन्टर बन्दै छ। 

सेन्टरमा भारतबाट घर फर्किने नेपालीलाई राखिने छ। उपत्यकामा राधास्वामी सत्संगको भवनमा दुई सय बेडको आइसोलेसन कक्ष निर्माण गर्न लागिएको पौडेलले बताए।

यस्तै देशका विभिन्न ठाउँमा क्वारेन्टिन र आइसोलेसन सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको उनले जानकारी दिए। 

कोभिड मापदण्ड अनुरूप सेनाको जनशक्तिलाई सुरक्षित राख्ने पहिलो दायित्वअनुसार काम गरिरहेको सैनिक प्रवक्ता सहायक रथी पौडेल बताउँछन्। 

उनी भन्छन्, ‘मन्त्रालयबाट जारी मापदण्डका आधारमा सैनिक पल्टनमा खानाको समय निर्धारण, उनीहरूको आवागमनमा कडाइ, तालिमका कार्यक्रम र पूर्व निर्धारित कार्यक्रम बन्द गर्ने निर्णय गरिसकेका छौं।’

जरुरी कार्यक्रममा २५ जनाभन्दा बढी सहभागिता नगराउने, भेन्टिलेटेड ठाउँमा मात्रै काम गर्ने, स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराइने उनको भनाइ छ। 

प्रवक्ता पौडेलले देशभरका सैनिक ब्यारेकमा यसअघि बनाइएका आइसोलेसन र क्वारेन्टिनलाई पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए। 

सेनाले आफ्ना कर्मचारीलाई भ्याक्सिनसमेत लगाइरहेको छ। ‘अहिलेसम्म ३७ हजारलाई पहिलो डोज र ८ हजारलाई दोस्रो डोज दिइसकिएको छ,’ पौडेलले भने, ‘केन्द्रबाट लगेर ब्यारेक लगायत तालिम केन्द्रमा पु¥याउने र त्यहाँ भ्याक्सिन लगाइरहेका छौं।’

सेनाले संक्रमितको उपचारका लागि वीरेन्द्र सैनिक अस्पतालमा ७५ बेड सञ्चालन गरेको छ।  फिल्ड अस्पतालमा आइसोलेसन स्थापना गरिएका छन्। तर, मुख्य रुपमा वीरेन्द्र सैनिक अस्पतालमा नै उपचार भइरहेको उनले बताए।

दोस्रो लहर सुरु भययता नेपाली सेनामा ५५ जना संक्रमित भएका छन्। अहिलेसम्म सेनामा संक्रमित संख्या पाँच हजार २३४ पुगेको छ। नेपाली सेनाले कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापन पनि गर्दै आएको छ।

मापदण्ड पालना नगर्नेलाई मुद्दासमेत चलाउने नेपाल प्रहरीको तयारी

कोरोना भाइरस महामारी सुरु भएसँगै बढी जोखिममा रहेको सुरक्षा निकाय हो नेपाल प्रहरी। प्रत्यक्ष रूपमा नागरिकसँग संवाद गर्ने र सुरक्षा प्रदान गर्ने दायित्व बोकेको नेपाल प्रहरीका आठ हजार कर्मचारी कोरोना संक्रमित भएका छन्। 

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर पहिलो चरणको अवस्थाले पाठ सिकाएकाले त्यसैअनुसार जोखिम न्यूनीकरण गर्दै फिल्डमा खटिएको बताउँछन्।

उनी भन्छन्, ‘हामी सरकारले जारी गरेको मापदण्ड लागू गरेर आन्तरिक रुपमा काम गरिरहेका छौं। निषेध आदेश पालना गराउने देखि लिएर सचेतनामूलक कार्यक्रम र मापदण्ड नमान्नेलाई कारबाहीस्वरुप जरिवाना गरिरहेको उनी बताउँछन्। 

फिल्डमा खटिएका सुरक्षाकर्मीलाई काममा अवरोध सिर्जना गर्ने काम भएमा पक्राउ गरेर मुद्दासमेत चलाइने प्रहरी प्रवक्ता कुँवर बताउँछन्।

प्रहरीले फिल्डमा खटिने प्रहरी कर्मचारीहरुलाई आफू सुरक्षित भएर काम गर्न निर्देशन दिइसकेको छ। 
‘मास्क लगाउन,, स्यानिटाइजर प्रयोग गर्न र भौतिक दूरी काम गरेर डिय्टी गर्न भनिएको छ। कर्मचारीलाई क्वारेन्टिन बनाउने, आइसोलेसन निर्माण लगायतको काम भइरहेको छ,’ उनी भन्छन्। सरकारले गरेको आदेश पालना गराउने प्रमुख दायित्व सम्झेर अहिलेको अवस्थालाई सहज बनाउन खटिएको उनको भनाइ छ।

नेपाल प्रहरीका ६८ हजार जति कर्मचारीले कोरोना खोप लगाएका छन्। महामारीको दोस्रो लहर सुरु भएपछि प्रहरीका कति कर्मचारी संक्रमित छन् भन्ने जिज्ञासामा प्रवक्ता कुँवरले संख्या नतोक्ने जवाफ दिए।

‘अहिले कति संक्रमित भनेर नतोकौं। संक्रमण हुने क्रम बढ्दो छ। ब्यारेकमा बस्दा पनि आवश्यक मापदण्ड पूरा गरेर बस्न भनिएको छ,’ उनी भन्छन्, ‘लक्षण देखिए आइसोलेसनमा राख्ने र कन्ट्याक्ट टे«सिङ गर्ने काम भइरहेको छ।’ 


सशस्त्रका २५ हजार जनशक्ति परिचालन

सशस्त्र प्रहरी बल नेपालले दोस्रो चरण सुरु भएपछि पहिले जस्तै आफ्ना कर्मचारीलाई फिल्डमा खटाएको छ। प्रवक्ता डीआईजी राजु अर्यालले २५ हजार जनशक्ति खटिएको जानकारी दिए। उनी भन्छन्, ‘हामीले स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गरेर काम गरिरहेका छौं। हेडक्वार्टरदेखि जिल्ला तहसम्मका युनिटमा निर्देशन पठाइएको छ।’ 

उनले सीमामा खटिने र अन्यत्र खटिनेलाई त्यसैअनुसार तयार पारिएको मापदण्ड परिपत्र गरिएको बताए।

सीमा बन्द र खुला गर्ने सम्बन्धमा सरकारको नीति अनुसार सशस्त्र प्रहरीले काम गरिरहेको छ। उनी भन्छन्, ‘कोभिडको महामारी बढ्दै गएकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि सुरक्षित भएरै काम भइरहेको छ।’

उनका अनुसार सशस्त्रले सीमा सुरक्षासँगै स्वास्थ्य सामग्रीसहितका अत्यावश्यक वस्तुको ढुवानी र सुरक्षा प्रदान गरिरहेको छ। 

‘जस्तो कही अक्सिजन ग्यास सकियो भने त्यहाँ कसरी ढुवानी गर्ने के गर्ने भन्ने काम गर्छौं,’ उनले भने, ‘अन्य निकायसँगको समन्वयमा नै हामीले काम गर्ने हो।’

सशस्त्र प्रहरीले ड्यिुटीमा खटिने कर्मचारीलाई ब्यारेकमा छुट्टै बस्ने व्यवस्था मिलाएको छ। त्यस्तै ती कर्मचारीको खानालगायत सरसफाइको पनि छुट्टै तयारी छ। हेडक्वार्टर र जिल्लासम्मका युनिटभित्र आइसोलेसन निर्माण गरिएको सशस्त्र प्रहरीले जनाएको छ। कोरोना महामारीको दोस्रो चरण सुरु भएयता सशस्त्र प्रहरी बलका १९ जना कर्मचारी संक्रमित छन्। 

प्रकाशित: Apr 29, 2021| 05:48 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।