काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्ताव नल्याउने संकेत गरेको छ।
आज आइतबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले अविश्वासको प्रस्ताव पास हुने ग्यारेन्टी नहुँदासम्म अघि बढ्न नहुने निष्कर्ष निकालेको हो।
ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको चर्चा भइरहेका बेला कांग्रेसले भने हतार नगर्ने स्पष्ट पारेको छ। अविश्वासको प्रस्ताव पास हुने संख्या कांग्रेससँग नरहेको र त्यसको सुनिश्चितता नभई अविश्वासको प्रस्ताव ल्याउन नहुने कांग्रेसको निष्कर्ष छ।
‘हामीले केन्द्रीय समिति बैठकबाटै प्रधानमन्त्रीको राजीनामा मागेका छौं। अविश्वासको प्रस्ताव ल्याउन पहल पनि भइरहेकै छ,’ उपसभापति विमलेन्द्र निधिले भने, ‘तर, अहिले नै हतारमा अविश्वासको प्रस्ताव ल्याउन हुँदैन। प्रस्ताव पास भएन भने अर्को एक वर्ष ल्याउन पाइँदैन। त्यसैले खाडलमा पर्ने काम गर्न हुँदैन।’
उनले अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल भइरहेको बताए। ‘जबसम्म ग्यारेन्टी हुँदैन, तबसम्म केही गर्दैनौं। तर यसका लागि पहल भने भइरहेको छ,’ उनले भने।
नेता अर्जुननरसिंह केसीले ओली नेतृत्वको सरकारको विकल्प खोज्न कांग्रेस प्रयासरत रहेको बताए। ‘प्रधानमन्त्रीको विकल्प खोज्न कांग्रेस प्रयासरत छ,’ उनले भने।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर अविश्वासको प्रस्ताव ल्याउने चर्चा लामो समयदेखि चलिरहेको छ। तर, ओलीको विकल्प खोज्न जसपा एकमत छैन।