काठमाडौं– उज्यालो नेटवर्कका दुईजना पत्रकार गिरफ्तारीमा परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघले आइतबार विज्ञप्ति जारी गरी उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भन्ने आदेश दिइसकेको स्मरण गराउँदै महासंघले यस्तो अवस्थामा कार्यालयमै पुगेर पत्रकार गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन, संवैधानिक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको ठहर गरेको छ।
महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको छ। साथै अनलाइनमा प्रकाशित समाचारको विषयमा प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ। यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन, संवैधानिक व्यस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ। त्यतिमात्र होइन, यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रस्ट पारेको छ।’
प्रहरीले आइतबार उज्यालो नेटवर्कको अनामनगरस्थित कार्यालयमा पुगेर अनिश र दुर्गालाललाई गिरफ्तार गरेको थियो। उक्त अनलाइनले केही दिनअघि भारतको गुप्तचरी संस्था रअका प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच ४ बुँदे सहमति भएको भन्दै समाचार प्रकाशन गरेको थियो।
त्यसपछि गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले अनलाइनलाई स्पष्टीकरण सोधेको थियो। त्यसपछि उक्त अनलाइनले असावधानीवश समाचार प्रकाशन भएको भन्दै क्षमा मागेको थियो।
प्रहरीले उनीहरुलाई लिखत सम्बन्धी कसूर, विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरमा पक्राउ गरेको बताइएको छ।
मुलुकी अपराध संहिता २०७४ अनुसार राज्यविरुद्धको झुटा लिखत गरेमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँँसम्म जरिवाना हुन सक्छ।