सुर्खेत- कर्णाली प्रदेशसभाका चार सांसदलाई पदमुक्त गर्न नेकपा एमालेले प्रदेशसभालाई पत्र पठाएको छ।
पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्रदेशसभामा आज दर्ता गराएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जनाकारी दिए।
नेकपा एमालेको केन्द्रीय कमिटीले चारै जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। कारबाही अघि एमालेले चारै जनालाई फ्लोर क्रस गरेर माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीमा विश्वासको मत दिनुको कारण के थियो भन्ने प्रश्नसहित स्पष्टीकरण सोधेको थियो।
सांसदहरु भोलिमात्रै पदमुक्त हुनेछन्। भोलि (सोमबार १३ गते) बस्ने प्रदेशसभा बैठलाई जानकारी दिएपछि सांसदहरु कानूनी रुपमै पदमुक्त हने प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जनाए।
‘चार सांसदलाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्राप्त भएको छ’ बुढाथोकीले भने, ‘भोलि बस्ने प्रदेशसभामा जानकारी गराएपछि मात्रै उहाँहरु पदमुक्त हुनुहुन्छ।’ कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठक सोमबार दिउँसो २ बजेका लागि डाकिएको छ। पार्टीको निर्देशनविपरीत फ्लोर क्रस गरेका चार सांसदमध्ये थापा भौतिक पूर्वाधार विकास मन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भइसकेका छन्।
ज्वाला भने सरकारमा सहभागी भएका छैनन्। चार सांसदहरु पदमुक्त भएपछि कर्णाली प्रदेशमा सांसदको संख्या ३५ मा झर्नेछ। चारै जना सांसद पदमुक्त भएको खण्डमा कर्णाली प्रदेशसभामा एमालेका सांसदको संख्या १६ (सभामुख राजबहादुर शाही सहित) मा झर्नेछ।
कारबाहीपछि कायम रहने ३५ जना प्रदेशसभा सदस्यमध्ये १८ जना सांसदको समर्थनमा बहुमतको सरकारले गठन गर्न सकिन्छ। यही कारण कारबाहीपछि पनि अहिलेकै सरकारले निरन्तरता पाउने निश्चित देखिन्छ।
कर्णालीमा सत्तारुढ दल माओवादी केन्द्रका १२ र नेपाली कांग्रेसका १६ जना सांसद छन्। ४० सदस्यमध्ये माओवादी छोडेर एमालेमा प्रवेश गरेका धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसकेका छन्। सांसदहरु पदमुक्त भएपछि कर्णाली प्रदेशमा एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्।