हेटौँडा- बागमती प्रदेशको राजधानी हेटौँडामा हलुका सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ। सहरका भीडभाड हुने स्थानमा जोरबिजोर प्रणाली लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालय र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको केही दिनअघि बसेको संयुक्त बैठकले पहिलो चरणमा हेटौँडा आसपास क्षेत्रमा जोरबिजोर प्रणाली लागू गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। 'कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न आइतबारदेखि हल्का सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको हो,' प्रजिअ पाण्डेले भने।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौँडाको विभिन्न क्षेत्रमा आवाजजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरी (सफारी)लाई तोकिएको स्थानमा मास्क लगाई जोर–बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याइएको बताए।
जोर–बिजोर प्रणाली लागू गर्ने भनी जानकारी नभएका सवारीधनीलाई प्रहरीको विभिन्न टोलीले सम्झाई/बुझाई गरी गन्तव्य स्थानमा पठाइएको र अन्य सवारीसाधनलाई फिर्ता पठाइएको पनि प्रहरी निरीक्षक अधिकारीको भनाइ छ।