काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वेच्छाचारी कम्युनिष्ट सरकारको विकल्प खोज्नु अपरिहार्य भएको बताएका छन्। उनले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि कम्युनिष्ट सरकारको विकल्प खोज्नुपर्ने बेला आएको बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् निधिले लोकतान्त्रिक पद्धतिमाथि भइरहेका निरन्तरका प्रहारहरुले चिन्तित तुल्याएकोसमेत उल्लेख गरेका छन्। १५ औँ अहिलेको सरकार स्वेच्छाचारी र सर्वसत्तावाद उन्मुख भएको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘आजको दिन लोकतन्त्र दिवसकारुपमा मनाउँदै गर्दा हाम्रासामु लोकतन्त्रिक पद्दतिमाथि भइरहेका निरन्तरका प्रहारहरू चिन्तित तुल्याउने खालका छन्।’
निधिले सरकारबाटै लोकतान्त्रिक शासन व्यवस्थाका आधारहरू भत्काउने प्रपञ्च भइरहेको पनि टिप्पणी गरेका छन्। संसदलाई बेकामे बनाइएको र न्यायालयलाई सत्ताको मुठ्ठीमा पारिँदै गरेको तथा कार्यपालिका स्वेच्छाचारी र सर्वसत्तावाद उन्मुख भएको निधिले टिप्पणी गरेका छन्।
उपसभापति निधिले २०६२/०६३ को आन्दोलनको जगमा प्राप्त प्रमुख उपलब्धिहरू गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई बदनाम गर्न सरकार एकपछि अर्को गर्दै लागि परेको आरोप लगाएका छन्।
व्यवस्था नास्न उद्धत अनि जनताप्रति अनुत्तरदायी यस्तो सरकार आखिर किन र कसका लागि भन्ने प्रश्न गर्दै कांग्रेस उपसभापति निधिले अब संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षार्थ पनि स्वेच्छाचारी कम्युनिस्ट सरकारको विकल्प खोज्नु अपरिहार्य भइसके उल्लेख गरेका छन्।