काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको चक्र रोक्न नसकिए र यही गतिमा संक्रमणको दर बढ्दै गए अस्पतालमा बिरामी राख्न समेत ठाउँ नहुने चेतावनी दिएको छ।
संक्रमण रोकथामका सम्बन्धमा आइतबार सूचना जारी गर्दै मन्त्रालयले कोरोना जोखिम बढ्दै गएकाले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ। ‘व्यक्ति–व्यक्तिले निर्वाह गर्नसक्ने भूमिकाबाट कसैलाई पनि विचलित हुन नदिऔं, खबरदारी गरौं,’ मन्त्रालयले भनेको छ।
देशका विभिन्न स्थानमा कोरोना संक्रमणको निकै चिन्ताजनक अवस्था देखिएको भन्दै मन्त्रालयले संक्रमणको चेन ब्रेक रोक्न नसके भयावह अवस्था आउन सक्ने बताएको छ। अस्पतालमा स्वास्थ्यकर्मीले भयावह दृष्य देख्नुपरेको भन्दै मन्त्रालयले यस्ता दृष्य रोक्न सबैको महत्वपूर्ण जिम्मेवारी हुने बताएको छ।
संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड (मास्क लगाउने, दूरी कायम गर्ने र स्यानिटाइजर गर्ने) लाई कडाइका साथ पालना गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।