काठमाडौं– उज्यालो नेटवर्क डटकमका दुईजना पत्रकार पक्राउ परेका छन्।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी आज आइतबार कार्यालयमै पुगेर प्रहरीले अनिश भन्ने श्यामबहादुर तामाङ र प्रभात भन्ने दुर्गालाल तामाङलाई पक्राउ गरेको हो।
उक्त अनलाइनले केही दिनअघि भारतको गुप्तचरी संस्था रअका प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच ४ बुँदे सहमति भएको भन्दै समाचार प्रकाशन गरेको थियो।
त्यसपछि गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले अनलाइनलाई स्पष्टीकरण सोधेको थियो। त्यसपछि उक्त अनलाइनले असावधानीवश समाचार प्रकाशन भएको भन्दै क्षमा मागेको थियो।
प्रहरीले उनीहरुलाई लिखत सम्बन्धी कसूर, विद्युतीय काराेबार ऐन र राज्यविरुद्धको कसूरमा पक्राउ गरेको बताइएको छ।
मुलुकी अपराध संहिता २०७४ अनुसार राज्यविरुद्धको झुटा लिखत गरेमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँँसम्म जरिवाना हुन सक्छ।