पर्सा- जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध कारोबार र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरी जवानसहित आठजनालाई पक्राउ गरेको छ। सीमावर्ती सहर रक्सौलबाट पक्राउ परेका उनीहरूको साथबाट दुई थान पेस्तोल र चार थान म्याग्जिनसहित विभिन्न किसिमका लागुऔषध प्रहरीले बरामद गरेको हो।
प्रहरीका अनुसार भारतबाट एक लाख ५० हजार रूपैयाँमा भारतको रक्सौलबाट मकवानपुर मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षिय राजु रानामगर र काठमाडौं बस्दै आएका राम प्रजापतिले सुनमिका लेखेको एक थान पेस्तोल र दुई थान म्याग्जिन खरिद गरेका थिए। उनीहरूले लागुऔषध डाइजिपाम, नुर्फिनलगायतका लागुऔषध ल्याई वीरगञ्जको मनोकामना गेष्टहाउसमा बसेका थिए।

सोही लागुऔषध रौतहट सखुहवा नगरपालिका–१ बस्ने जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय प्रहरी जवान अवधेशप्रसाद यादव, वीरगञ्ज महानगरपालिका–१२ मुर्ली बस्ने ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्दप्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वडा नम्बर १५ बस्ने २४ वर्षीय नन्दन सिंह, ३१ वर्षीय रोशन सिंहलगायतले लागुऔषध तथा हातहतियार लुटेको प्रहरीले जनाएको छ।
लुटपाट गर्नेहरूको साथबाट थप एक थान पेस्तोलसहित दुई थान म्याग्जिन, सुनको मुन्द्रा, नगद सात हजारलगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।