चितवन - भरतपुर महानगरपालिका-१, ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूली नदीमा खस्दा दुई बेपत्ता भएका छन्। तीनजनाको उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए।
दुईजना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीनजनाको उद्धार गरिएको उनले जानकारी दिए। उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ। बेपत्ताको खोजी थालिएको छ।
निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो। डिभिजन सडक कार्यालय चितवनका प्रमुख ई कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी आफूले पाएको बताए। घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ।
जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानैदेखि १८ मजदुर कामका लागि गएको र घटनापछि आफू त्यसतर्फ जाँदै गरेको जानकारी दिए। ठिमुरा र देवघाट गाउँपालिका-५ घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ। रासस