काठमाडौं – गण्डकी प्रदेशमा विपक्षी दलको संयुक्त बैठक आज बस्दै छ। सबै विपक्षी दल सरकारविरुद्ध एक स्थानमा उभिएका छन्। सोमबार सुरु हुने संसदको विशेष अधिवेशनमा सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित गराउने उनीहरूको तयारी छ। सोही विषयमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको नेपाली कांग्रेसका सांसद विन्दुकुमार थापाले बताए।
शनिबार सम्पन्न कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको छलफलले तय गरेका विषयलाई निष्कर्षमा पुर्याउन आज पुनः राष्ट्रिय जनमोर्चासमेत चार दलको बैठक बस्न लागेको उनले जानकारी दिए।
तीन सांसद रहेको राजमोका संसदीय दलका नेता कृष्ण थापा कम्युनिस्ट सरकारको पक्षमा रहेका छन्। आजै ११ बजे प्रदेश संसद्को कार्य व्यवस्था समितिको बैठक पनि बस्दै छ। आजको बैठकले सोमबारको विशेष अधिवेशनका लागि कार्यसूची तय गर्नेछ।