बागलुङ - बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः संकटमा पर्न थालेको छ।
कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरू केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन्।
कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचीमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्र वैशाख मसान्तसम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णयका कारण होटलमा अग्रिमरूपमा भएको बुकिङसमेत धमाधम रद्द भएको होटल व्यवसायीले गुनासो गरेका छन्।
प्रशासनले भीडभाड हुने पर्यटकीय क्षेत्रमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाएपछि झण्डै जिल्लाका ५०० बुकिङ रद्द भएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए।
कोरोना जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बागलुङले मठ मन्दिर प्रवेश गर्न र सभा सम्मेलन गर्न रोक लगाएपछि होटलहरू सुनसान भएका हुन्।
लामो समय कोरोनाले गर्दा ठप्प भएका होटल व्यवसाय लकडाउन खुलेपछि सञ्चालनमा आएका थिए तर पुनः कोरोना जोखिम बढेसँगै व्यापार व्यवसाय चल्न छाडेका छन्। रासस