कपिलवस्तु- कपिलवस्तुको महाराजगंज नगरपालिकाको कार्यालय एक हप्ताको लागि बन्द भएको छ।
कोभिड–१९ को संक्रमण बढिरहेकाले रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ। नगरपालिकाका केही कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टी भएकोले नगरपालिका बन्द गरिएको हो।
महाराजगंज नगर कार्यपालिकाको आज बसेको बैठकले वैशाख १२ गतेदेखि एक साता बन्द रहने सूचना प्रकाशित गरेको छ।
नगरपालिकाभित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द रहने महाराजगन्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ।
नगरपालिकाका सबै वडा कार्यालयहरु र सबै स्वास्थ्य संस्थाहरु यथावत रुपमा सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी बृजेश चौधरीले जानकारी दिए।