बुटवल- शनिबार दिउँसो ३ बजे लुम्बिनी प्रादेशिक अस्पतालको इर्मेजेन्सी कक्षमा बुटवल देवीनगरकी एक महिला आत्तिँदै फोन गर्दै थिइन्। ३७ वर्षीय श्रीमानलाई तत्त्काल आईसीयूमा राख्नुपर्छ भनेपछि उनी आत्तिइन्। बुटवलस्थित कोरोना विशेष अस्पताल, भिम अस्पताल, मेडिकल कलेज कुनैमा पनि आईसीयू खाली छैन।
बडो मुस्किलले शनिबार बिहान लुम्बिनी अस्पतालको फिभर क्लिनिकमा बेड पाएर अक्सिजनसम्म दिन पाउँदा संसार जितेजस्तो भएको थियो उनलाई। तर, बिरामीको अवस्था गम्भीर भएकाले आईसीयू नपाएर छटपटाउँदै अस्पताल परिसरमा हारगुहार गरिरहेकी छन्। शनिबार अबेरसम्म उनले श्रीमानका लागि आईसीयू पाएकी छैनन्।
उनको छटपटाहटमा स्वास्थ्यकर्मी पनि मुकदर्शक थिए। बरु नर्सहरु भन्दै थिए–‘हेलिकप्टरमार्फत् काठमाडौं लैजानुस्।’ अस्पताल परिसरमा कोरोना संक्रमित बिरामीहरुको बेहाल छ। कोही गेटबाटै फर्किएका छन्। अस्पतालमा छटपटाउँदै बेड खोज्दै बिरामीले ज्यान गुमाउनुपरेको छ।
मायादेवी गाउँपालिका बेथरीका दानबहादुर क्षेत्रीले भैरहवास्थित मेडिकल कलेजमा २ दिनसम्म पर्खँदा पनि बेड पाएनन्। कोरोना संक्रमित ७२ वर्षीया आमालाई अक्सिजन दिनुपर्ने भएकाले अस्पतालमा राख्नुपर्ने थियो तर बेड पाइएन। संयोगले लुम्बिनीको फिभर क्लिनिकमा बेड पाएका उनले भने, ‘भाग्यले बेड पाएँ, त्यो पनि २ मिनेट ढिला गरेको भए नपाउने रहेछु।’
जनता उपचार नपाएर मर्ने अवस्थामा पुग्दा पनि नेताहरु रमिते बनेको भन्दै उनले आक्रोश पोखे। ‘अब मैलै मेरो आमालाई आईसीयू बेड पाउँदिन, यो कस्तो देश हो’ उनले प्रश्न गरे, ‘हाम्रा मन्त्रीहरुले बेड नपाएर छटपटिएका जनताका कुरा सुन्नु पर्दैन ?’
अहिले लुम्बिनी प्रदेशमा कुनै पनि कोरोना संक्रमितले अस्पतालको बेड पाउँदैनन्। कतै भूईँमै राखेर उपचार गर्नुपरेको छ भने कतै अस्पतालले बिरामी नै लिएका छैनन्। पहुँचवालाहरुले मात्रै बेड पाएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालले फिभर क्लिनिकमा ७ वटा बेड मात्रै बनाएको छ।
जहाँ कोरोना आशंका गरिएका बिरामीलाई राखिन्छ। तर, धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालको १३ आईसीयू बेड भरिएपछि संक्रमितलाई अस्पतालले गेटबाटै फर्काएको छ। ‘भर्खर मात्रै श्वास फेर्न गाह्रो भयो भन्दै २ जनाले बेडका लागि फोन गर्नुभएको छ’ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल फिभर क्लिनिकका स्वास्थ्यकर्मी इन्द्र राईले भने।
उनका अनुसार कोरोना आशंका गरिएका बिरामीलाई राख्नुपर्ने बेडमा संक्रमितलाई राखेर उपचार गर्नुपरेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले कोरोना संक्रमण भएका कुनै पनि बिरामीलाई बेडमा भर्ना गरेर उपचार गर्ने अवस्था नभएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। उनले कोरोना संक्रमणको दर दैनिक रुपमा वृद्धि भइरहेको बताउँदै अस्पतालले थेग्न नसक्दा बिरामीलाई उपचार गर्न नसकिएको बताए।
मुख्यमन्त्री काठमाडौंमा रमाउँदै, जनता आतिँदै
कोरोनाको दोस्रो लहरले लुम्बिनी प्रदेश नराम्रोसँग प्रभावित बने पनि प्रदेश सरकारको तयारी भने केही पनि छैन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री अहिले राष्ट्रिय राजनीतिको जोड घटाउमा व्यस्त छन्।
धेरैजसो मन्त्री तथा नेताहरुसमेत काठमाडौं छन्। अस्पतालमा भेटिएका बुटवलका विष्णु खरेलले यस्तो महामारीमा पनि सरकार अभिभावक बन्न नसक्नु विडम्बना भएको बताए।
लोकतन्त्र दिवसका दिन कोरोना संक्रमित नागरिक उपचारका लागि अस्पतालमा स्वास्थ्यकर्मीसँग झगडा गरिहेका छन्। लुम्बिनी प्रदेशका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आफू काठमाडौंबाट फर्कदै गरेको बताए। प्रदेशमा जनताले उपचार गर्न बेड पाएनन् नि मन्त्री ज्यू भन्ने प्रश्नमा उनले भने, ‘नेपालगञ्जमा बेड थप्ने निर्णय भएको छ, रुपन्देहीमा पनि अब बेड थपिन्छ।’
सरकारले दोस्रो लहरको कोरोनालाई सामना गर्ने कुनै तयारी गरेको छैन। यसअघि स्थानीय सरकारहरुले आइसोलेशन सेन्टर बनाएर संक्रमितको उपचार गरेका थिए। अहिले प्रदेश सरकारले तयार गरेको डेडिकेट कोरोना विशेष अस्पतालहरुमै बेड र उपकरण अभाव भए पनि त्यसतर्फ ध्यान पुगेको छैन।