काठमाडौं- जिल्ला प्रशासन कार्यालय काडमाडौंले कोरोनाको जोखिम बढ्दै गएकाले लकडाउनको विषयमा छलफल भइरहेको जनाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोनाको जोखिम बढेपछि लकडाउन गर्ने नगर्ने भन्ने विषयमा छलफल भइरहेको बताए।
नेपालसमयसँग कुरा गर्दै पराजुलीले भने, ‘वैशाख ६ गते मन्त्रिपरिषद्को ६ गतेको निर्णयअनुसार विभिन्न सेवाहरु बन्द गरिएको छ। सोहीअनुसार हामीले अनुगमन गरिरहेका छौं। तर अवस्था गम्भीर बन्दै गएकाले सार्वजनिक स्थलहरुमा थप कडाइ गर्दै गएका छौँ, प्रभावकारी रुपमा अनुगमन गर्ने र कार्यान्वयन गराएका छौं।’
उनले रात्रिकालीन व्यवसाय, मन्दिर, विद्यालयलगायत भिडभाड हुने स्थान बन्द गरिए पनि सार्वजनिक कार्यालयलाई व्यवस्थापन गर्न मन्त्रालयलाई सुझाब दिएको उनले बताए।
यो अवस्थालाई अझै कडाई गर्न गृह मन्त्रालय तथा सीसीएमसीलाई सुझाब दिएको उनले बताए।
उनले भने, ‘हामीले लकडाउन गर्न सक्दैनौैँ, यस विषयमा छलफल भइरहेको छ। ठ्याक्कै निर्णय गर्न सकेको छैन।’ जोखिम न्यूनीकरणको लागि कडाइका साथ जानुपर्ने प्रशासनको सुझाव छ।