जनकपुरधाम - कोरोना महामारीको दोस्रो लहर प्रदेश २ मा तीव्र रूपमा फैलिन थालेपछी नियन्त्रणका लागि प्रदेश सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ।
मुख्यमन्त्री लालबाबु राउतले आज बिहान आफ्नै निवास परिसरमा सर्वदलीय बोलाएका थिए। बैठकले कोरोना नियन्त्रणका उपाय अवलम्बन गर्न सर्वदलीय संयन्त्र गठन गरेको हो।
सरकारले हालसम्म चालेको कदम बारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरिएको मुख्यमन्त्री राउतले जानकारी दिए।
समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव रहेका छन्।
बैठकले २५ जना भन्दा बढी सहभागी हुने, सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिमा स्थानीय प्रशासनको सहयोगमा कडाई गरिने निर्णय भएको छ।