धनगढी - सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको नौ महिनामा सवारी दुर्घटनामा एक सय ४७ जनाले ज्यान गुमाएका छन्।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा पाँच सय ११ जना गम्भीर घाइते र चार सय ४७ जना सामान्य घाइते भएका छन्।
नौ महिनामा प्रदेशमा चार सय ८१ सवारी दुर्घटना हुँदा ६ सय ७४ सवारी साधनमा क्षति पुगेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। अघिल्लो आर्थिक वर्षको नौ महिनामा एक सय १६ जनाले ज्यान गुमाएको प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। गत वर्ष सो अवधिमा दुई सय ३२ सवारी दुर्घटना हुँदा तीन सय सात सवारी साधनमा क्षति पुगेको थियो।
प्रहरीले सवारी दुर्घटना रोक्न ट्राफिक नियम उलंघन गर्ने सवारी चालकलाई कारबाही गरिरहेको प्रहरी निरीक्षक सिंहले बताए। सिंहले चालु आर्थिक वर्षको नौ महिनामा ट्राफिक नियम उलंघन गर्ने ६४ हजार तीन सय पाँच सवारी साधनलाई कारबाही गरेको बताए। कारबाहीमा परेका सवारी साधनबाट तीन करोड ७० लाख ८४ हजार पाँच सय राजश्व संकलन भएको सिंहले बताए।
प्रदेशमा सवारी साधन उलंघन गर्ने सबैभन्दा बढी दुई पांग्रे सवारी रहेको सिंहको भनाई छ । गत साउनदेखि चैतसम्म २४ हजार चार सय ६० मोटरसाइकल कारबाहीमा परेको सिंहले बताए। सिंहका अनुसार सो अवधिमा १४ हजार सात सय ४० जिप, ११ हजार तीन सय एक ट्रक, नौ हजार पाँच सय ९० ट्याक्टर, दुई हजार ८० बस तथा दुई हजार एक सय ३४ अन्य सवारी साधनलाई कारबाही गरिएको छ।