काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्।
भूकम्पले क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा बनाइएको २२ तले धरहराको प्रधानमन्त्री ओलीले एक समारोहकाबीच उद्घाटन गरेका हुन्।
करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भइरहेको धरहराको पूरा क्षेत्र ४२.२ रोपनीमा फैलिएको छ।
धरहरामा ४०० गाडी र ७०० मोटरसाइकल पार्किङ गर्न मिल्ने छ तीनतले भूमिगत पार्किङको सुविधासमेत रहेको छ। नयाँ धरहरामा दुईवटा लिफ्टको व्यवस्था हुनेछ।
यस्तो छ धरहराको इतिहास
- वि. सं. १८८१ मा तत्कालीन जनरल भीमसेन थापाले लगनटोलमा आफ्नो नाममा धरहरा (भीमसेन स्तम्भ) निर्माण गरेका थिए।
- १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाले सुन्धारामा अर्को ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाएका थिए।
- १८९० मा भत्किएपश्चात् लगनटोलको धरहराको जीर्णोद्धार भएन। १९१३ मा चट्याङ् परी भत्केपछि १९२३ मा फेरि जीर्णोद्धार गरिएको थियो।
- १९९० माघ २ को महाभूकम्पमा भत्किएको धरहराको जीर्णोद्धार २ वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा गराइएको थियो। पुनर्निर्माणपछि धरहरा ११ तलाबाट ९ तलामा सीमित पारिएको थियो।
- २०७२ वैशाख १२ गतेको महाभूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त हुनपुगेको थियो।
- २०७२ फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा 'मेरो धरहरा मै बनाउँछु' अभियान सुरु।
- २०७५ असोज १४ गते नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट धरहरा पुनर्निर्माणको काम थालनी।
- २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद्को बैठकद्वारा धरहरा पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय।
- २०७८ वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा धरहराको उद्घाटन।
स्रोत : पुनर्निर्माण प्राधिकरण
र यो पनि,
धरहराको आधा काम बाँकी, प्रधानमन्त्री ओलीलाई शिलालेखमा नाम लेखाउने हतार