काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबार गरेको स्थायी कमिटी गठनलगायतका विषयमा उपाध्यक्ष वामदेव गौतमले असहमति जनाएका छन्।
उनले ओलीले गरेको पछिल्लो कमिटी गठन, जिम्मेवारी बाँडफाँटलगायतका विषयमा आफ्नो असहमति रहेको स्पष्ट पारेका हुन्।
उनले पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीलाई मात्रै आफूले चिन्ने र आफू उपाध्यक्ष रहेको भन्दै फागुन २८ यताका सबै निर्णय र क्रियाकलाप अवैधानिक भएको बताएका हुन्।
प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमले बिहीबार साँझ पनि ओलीलाई फागुन २८ गतेका निर्णय फिर्ता लिन अनुरोध गरेका थिए। शुक्रबार ओलीले आफू निकटका नेताहरुलाई मात्रै राखेर गठन गरेको स्थायी कमिटी पनि अवैध रहेको गौतमको जिकिर छ।
शुक्रबार गौतमले आफू निकटका नेताहरुसँगको छलफलमा पनि यसबारे असहमति प्रकट गरेका थिए। यस्तै शुक्रबार साँझै वरिष्ठ नेता माधव नेपालसँग भएको अनौपचारिक भेटमा पनि गौतमले आफ्नो असहमति रहेको सुनाएको सुवेदीले नेपालसमयलाई जानकारी दिए। शुक्रबार जनकपुरबाट फर्किएका नेपाल सिधै नागपाेखरीमा गाैतमलाई भेट्न पुगेका थिए।
प्रेस सल्लाहकार सुवेदीले भने याे भेटलाई 'आकस्मिक' भनेका छन्।