मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कलाकार–पत्रकार नोकझोंक : स्वाभाविक घटना कि व्यावसायिकताको अभाव?

Siddartha premir insuranceSiddartha premir insurance

कलाकार–पत्रकार नोकझोंक : स्वाभाविक घटना कि व्यावसायिकताको अभाव?

शिल्पा पाेखरेल र प्रकाश सुवेदीबीचको पछिल्लाे विवाद कलाकार र रंग पत्रकारबीच बेला–बेलामा भइरहने नोकझोंकको एउटा दृष्टान्तमात्रै हो। फिल्म क्षेत्रमा थुप्रै अभिनेत्रीसँग रंग पत्रकारको नोकझोंक भएका उदाहरण बग्रेल्ती छन्।
 |  बिहीबार, वैशाख ९, २०७८
nespernesper

अनिल यादव

अनिल यादव

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेल र रंग पत्रकार प्रकाश सुवेदीबीचको विवाद यतिबेला फिल्मवृत्तमा ‘हटकेक’ छ। प्रकाशले आफ्नो टेलिभिजन कार्यक्रम ‘रजतपट’मा शिल्पाको विषयमा प्रसारण गरेको कार्यक्रमलाई लिएर सुरु भएको विवाद अहिले कार्यक्रम निलम्बन हुने अवस्थासम्म पुगेको छ। 

triton college

प्रकाशले कार्यक्रममार्फत शिल्पा एक विवाहित व्यक्तिसँग अफेयरमा रहेर अरुको घर बिगारेको आरोप लगाएका थिए। त्यसपछि उनको यो आरोपमाथि शिल्पाले चरित्रहत्या गरेको भन्दै आपत्ति जनाइन्।  सम्बन्धित व्यक्तिहरुले गलत भन्दै खण्डन गरे। 

तर, प्रकाश रोकिएनन्। फिल्म निर्माता छविराज ओझा र शिल्पाबीचको डिभोर्सको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकै बेला उनले आफ्नो अर्को कार्यक्रम ‘ग्ल्यामर गफ’मा छविलाई अतिथि बनाएर ल्याए। प्रयास त शिल्पासँग पनि गरेको उनले बताएका छन्। तर, बोल्नलाई उनी तयार भइनन्। बरु आफ्नो चरित्रहत्या गरेको भन्दै कार्यक्रम प्रसारण हुने एपिवान टेलिभिजनमा उजुरी लिएर पुगिन्। 

त्यसपछि एपिवान टेलिभिजनको व्यवस्थापनले अदालतमा विचाराधीन मुद्दामाथि एकतर्फी रिपोर्ट नबनाउन चेतावनी दिँदादिँदै प्रकाशले छविको अन्तर्वार्ता बनाएको भन्दै उनका दुवै कार्यक्रम तत्काललाई निलम्बन गर्ने निर्णय गरेको छ। 

योसँगै पछिल्लो समय सामाजिक सञ्जालमा राम्रो चर्चा कमाइरहेका प्रकाशका दुवै कार्यक्रम ‘रजतपट’ र ‘ग्ल्यामर गफ’को भविष्य अन्योलमा परेको छ। सुवेदीले भने युट्युबबाट भए पनि कार्यक्रम प्रसारण गर्ने बताउँदै आएका छन्।

Metro Mart
vianet

शिल्पा र प्रकाशबीचको यो विवाद कलाकार र रंग पत्रकारबीच बेला–बेलामा भइरहने नोकझोंकको एउटा दृष्टान्तमात्रै हो। फिल्म क्षेत्रमा थुप्रै अभिनेत्रीसँग रंग पत्रकारको नोकझोंक भएका उदाहरण बग्रेल्ती छन्। सबैभन्दा बढी नोकझोंक त उनै प्रकाश सुवेदीसँगै भएको छ। 

लकडाउनकै बीचमा अभिनेत्री पूजा शर्मासँग उनको ठूलो विवाद चल्यो। आफ्नो कार्यक्रममा कुनै एक नायिकालाई लक्षित गर्दै उनले ‘अन्तर्वार्ता दिने पनि आफैँ, उत्तर दिन नजान्ने पनि आफैँ। अनि हामीले लिएको अन्तर्वार्ता काँटछाँट गरिदिनुपर्ने, मिलाइदिनुपर्ने, महानायिका बनाइदिनुपर्ने, त्यो पनि दाह्रा निस्किएको अनुहारलाई। कति हाँस्नु !’ भन्दै टिप्पणी गरेपछि पूजाले आफूलाई इंगित गरेर दिएको अभिव्यक्ति भन्दै आपत्ति जनाइन्। 

उजुरी लिएर चलचित्र कलाकार संघदेखि एपिवान टेलिभिजनको कार्यालयसम्म पुगिन् पूजा। अन्ततः प्रकाशले अब उप्रान्त यस्तो नगर्ने प्रतिबद्धता जनाएपछि विवाद टुंगियो। 

गएको मंसिरमा प्रकाशले कोरोनाका कारण कलाकारहरु कामविहीन भएको विषयमा एक रिपोर्ट बजाएका थिए। त्यहीक्रममा उनले अभिनेत्री स्वस्तिमा खड्काले उनका श्रीमान् निश्चल बस्नेतलाई बोकेको एक भिडियोको सानो क्लिप देखाउँदै भनेका थिए, ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याइनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिति थियो। त्यति व्यस्त थिए कलाकार, डेट दिनै गाह्रो। अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो।’

त्यसपछि स्वस्तिमा चिढिइन्। उनले फेसबुकमै प्रत्युउत्तर दिँदै लेखिन्, ‘बरु बूढा बोकेर हिँडिन्छ तर जति फोन गरे पनि तिम्रोमा इन्टरभ्यू दिन आइन्न। फोन नउठाएर साह्रै रिसाउनुभएको रैछ। सरी ल।’

यी त केही उदाहरणमात्रै हुन्, आफ्नो ठाडो र कडा प्रस्तुति शैलीका कारण प्रकाश कान्तिपुरमा ‘रजतपट’ चलाउँदादेखि नै बेलाबखत विवादमा तानिन्थे। अभिनेत्री निरुता सिंहसँग समेत कुनैबेला उनको नोकझोंक भएको थियो। 

गत माघमा अभिनेत्री सुष्मा कार्की र रंग पत्रकार उत्सव रसाइलीबीचको नोकझोंकले पनि दह्रै चर्चा कमायो। सुष्माले राति लन्डन पबमा नायिका तथा निर्मात्री श्वेता खड्का, उनकी बहिनी आरती खड्का र उत्सव मिलेर हातपात गरेको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएपछि विवाद प्रहरी कार्यालयसम्म पुग्यो।

त्यतिबेला उत्सवले आफूलाई सुष्माले ‘कामी’ भन्दै जातीय हिसाबले गालीगलौजमा उत्रिएकाले विवादको अवस्था सिर्जना भएको बताएका थिए। तर, पछि उत्सवले मिडियासामु सुष्मासँग भएको घटनाप्रति माफी मागेपछि विवाद सुल्झिएको थियो। 

कलाकार र रंग पत्रकारबीचको नोकझोंकको चर्चा गरिरहँदा सधैँ स्मरणमा आउने घटना हो– अभिनेत्री निशा अधिकारी र पत्रकार अनुप भट्टराईबीचको विवाद। करिब ८ वर्षअघि फिल्म ‘लुट’ले ५१ औं दिन मनाएको उपलक्ष्यमा आर्मी अफिसर्स क्लब सुन्धारामा भव्य ‘सक्सेस पार्टी’ आयोजना भएको थियो। 

त्यहाँ भट्टराईले विभिन्न एंगलमा निशाको तस्बिर खिच्ने क्रममा उनीहरुबीच विवाद भएको थियो। विवाद भएपछि निशाले पत्रकार भट्टराईको क्यामेरासमेत खोसेकी थिइन्। त्यतिबेला मोडल तथा सञ्चारकर्मी सहाना बज्राचार्यसमेत अनुपमाथि खनिएकी थिइन्। निशाको व्यवहारप्रति फिल्म पत्रकारले आपत्ति जनाउँदा त्यतिबेला कार्यक्रमको माहोल नै बिग्रिएको सहभागीहरु अहिले पनि सम्झिन्छन्। यो विवादको भिडियो त अहिले पनि युट्युबमा भेट्न सकिन्छ। 

किन हुन्छ नोकझोंक ? 

फिल्म क्षेत्रमा कलाकार र पत्रकारबीच नोकझोंक भइरहनुलाई स्वाभाविक मान्छन् चलचित्र समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा। ‘सधैं भेट भइरहने, अन्तरक्रिया भइरहने मानिसहरुबीच नोकझोंक हुनु स्वभाविक हो,’ केही वर्षअघिसम्म पत्रकारितामै सक्रिय रहेका लामा भन्छन्, ‘खेल पत्रकारहरुको पनि एन्फा अध्यक्ष गणेश थापासँग नोकझोंक भएकै हो। व्यापारीहरुसँग आर्थिक पत्रकारहरुको पनि नोकझोंक भइरहेकै होला।’

कलाकार र चलचित्र पत्रकारमा परिपक्वताको कमीका कारण त्यस्तो विवाद अलि बढी छताछुल्ल हुने गरेको लामा बताउँछन्। ‘संयम अपनाउनुपर्ने बेलामा पनि नअपनाउने र तत्काल प्रतिक्रिया दिइहाल्ने प्रवृत्ति पनि यो क्षेत्रमा छ,’ पत्रकारिता छाडेर फिल्म निर्देशनमा लागेका लामाले थपे, ‘कलाकार र पत्रकारबीचको नोकझोंक प्रायः गसिपका कारण हुने गर्छ। हामीकहाँ कलाकारहरुसँग गसिप पचाउन सक्ने क्षमता कम छ। त्यसैले उनीहरु प्रतिक्रिया दिइहाल्छन्। गसिप इन्टरनेसनल ट्रेन्ड हो, यसलाई त सहज हिसाबले लिन सक्नुपर्ने हो।’ 

फिल्म निर्देशक मनोज पण्डित कलाकार र पत्रकारबीचको नोकझोंक उनीहरुकै चाहनामा चर्चाका लागि हुने गरेको बताउँछन्। ‘कलाकार र पत्रकारबीच यस्तो हुन्छ किनकी दुवै पक्ष यो चाहन्छन्। त्यसमै आफ्नो फाइदा देख्छन् उनीहरु। त्यही बजारमा बिक्री हुन्छ भन्ने ठान्छन्,’ पण्डित भन्छन्, ‘कलाकारसँगको लफडाले पत्रकारको चर्चा, पत्रकारसँगको लफडाले कलाकारलाई चर्चा। दर्शकलाई अनौठो लाग्ला, तर तीतो सत्यचाहिँ के हो भने यस्तो नोकझोंकले दुवै पक्षलाई फाइदा छ। मेरो विचारमा यो चर्चाको लोभमा हुने षड्यन्त्र हो। यस्तो षड्यन्त्रको श्रृंखला लामो समयसम्म चल्नेवाला छ।’

आम दर्शकले यस्तो कुरालाई बेवास्ता गर्नुपर्ने सुझाव पण्डितको छ। ‘जबसम्म दर्शकले नै यो वाहियात हो भनेर इग्नोर गर्दैनन्, जबसम्म उनीहरु यस्ता कुरामा रनभुल्लमा परिरहन्छन्, तबसम्म यस्तो नोकझोंक भइरहन्छ। तर, यसले नेपाली सिनेमा क्षेत्रलाई भने कुनै फाइदा गर्दैन।’

कलाकार र पत्रकारबीच व्यावसायिक सम्बन्ध नहुँदाको परिणाम यस्ता अनावश्यक विवाद आउने गरेको ठहर मनोजको छ। ‘धेरै फिल्म पत्रकारको कलाकारसँग व्यक्तिगत सम्बन्ध रहेकाले पनि यस्तो विवाद भइरहेको हो,’ पण्डित भन्छन्।

उनको मतसँग दीपेन्द्र लामा पनि सहमत छन्। भन्छन्, ‘हामीकहाँ चलचित्र पत्रकारहरुले कलाकारसँग जति दूरी कायम राख्नुपर्ने हो, त्यो देखिँदैन। पत्रकार त पत्रकारकै भूमिकामा बस्नुपर्ने हो नि तर यहाँ त म फलानो कलाकारको मान्छे हुँ भन्दै हिँड्छन्। यसले गर्दा कुनै दिन विवाद सिर्जना हुने निश्चित छ।’

मनोज र दीपेन्द्रको भनाइ एउटा घटनासँग मेल खान्छ। सुष्मा कार्मीसँगको झगडामा मुछिएका पत्रकार उत्सव रसाइलीको कुनैबला उनैसँग निकटको सम्बन्ध थियो। 

त्यसैगरी प्रकाश सुवेदीसँग विवादमा तानिएका अभिनेत्रीहरुको पनि विगतमा उनैसँग व्यक्तिगत हिसाबले राम्रो सम्बन्ध थियो। छवि ओझासँगको व्यक्तिगत सम्बन्धकै कारण अहिले प्रकाश शिल्पाविरुद्ध एकपक्षीय हिसाबले खनिएको चर्चा फिल्म वृत्तमा अहिले छ।

प्रकाशित: Apr 22, 2021| 12:32 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।