काठमाडौं– माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ।
पार्टी स्थायी कमिटीको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले भने, ‘स्थायी कमिटीले निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिएको छ।’
बैठकले सिंगो राष्ट्रको एकता र राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतान्त्रिक शक्तिहरूको एकता, संविधान र लोकतन्त्रको रक्षा, सच्चा कम्युनिस्टहरुको एकता र कम्युनिस्ट आन्दोलनको रक्षालाई केन्द्रबिन्दुमा राखेर नीति कार्यक्रम र योजना बढ्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।
उनले भने, ‘त्यसै आधारमा सबै राजनीतिक दल, सामाजिक शक्ति र देशभक्त शक्तिसँग छलफल प्रक्रिया अघि बढाउने निष्कर्ष निकालिएको छ।'
बैठकमा विधान संशोधन कार्यदलले पेस गरेको संशोधित विधानको मस्यौदामाथि विभिन्न नेताहरुले आआफ्नो धारणा राखेका थिए।
श्रेष्ठले भने, सबै सुझावलाई समेत पार्टी केन्द्रीय कार्यालयले अन्तिम मस्यौदाका रुपमा तयार गर्ने र केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा पेस गर्ने निर्णय भएको छ।’
प्रस्तावित विधान संशोधन मस्यौदाका आधारमा संगठनात्मक कार्यायोजना केही दिनपछि बस्ने स्थायी कमिटी बैटकमा प्रस्तुत गरिने उनले बताए।
श्रेष्ठले भने, ‘त्यसअनुसार संगठनात्मक योजना अघि बढाउने निर्णय भएको छ। त्यसले सिंगै पार्टी संगठन र भ्रातृ संगठनमा सुदृढीकरणमा नयाँ अभियान सञ्चालन हुने विश्वास लिएका छौं।’
यसैगरी अध्यक्ष दाहालले संगठनात्मक कार्यदलले संगठनात्मक कार्ययोजना तयार गर्ने अवधिमा राजनीतिक प्रतिवेदन तयार पार्नेछन्।
त्यसलाई स्थायी कमिटीमा पेस गरिने र त्यसलाई केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा पेस गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बैठकले कोभिड १९बाट बच्न सचेतता अपनाउन आमजनतालाई अपिल गरेको छ।
श्रेष्ठले भने, ‘कोरोनाविरुद्ध जनचेतना र जागरण अभियान सञ्चालन गर्न र सहजीकरण गर्न पार्टीका सम्पूर्ण संयन्त्रलाई निर्देशन दिएको छ।’
कोरोनाका कारण प्रस्तावित केन्द्रीय कमिटीको बैठक निश्चित नगरिएको उनले बताए। उनले भने, ‘कोरोना महामारीको अवस्थालाई ध्यान दिएर बैठकको मिति तोकिनेछ।