पोखरा- गण्डकी प्रदेश सरकारले १८ वटा तालमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको कामलाई अघि बढाएको छ। चालु आर्थिक वर्षमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र ताल संरक्षण तथा विकास प्राधिकरणमार्फत १८ वटा तालमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको कामलाई अघि बढाएको हो। गण्डकी प्रदेशका ११ जिल्लामध्ये यो आर्थिक वर्षमा ९ जिल्लाका ताल, पोखरी संरक्षण तथा मर्मत सम्भारको काम अघि बढाइएको हो।
प्रदेश सरकारले फेवाताल, टडुवा ताल, बाघेखोला ताल, बाह्र पोखरी तथा ताल, मेमे पोखरी, दूधपोखरी ताल, ठूलीदह, साना दह, हरिपोखरी मर्मत, गाँजाको दह, ठूली पोखरी ताल, बराह ताल, ढवाह ताल, कपुचे हिमताल, ताल पोखरी, कश्यप पोखरी, राम्जा ठूलीपोखरी, सुनपोखरी, इलम पोखरी लागयतका तालहरुमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको काम अगाडि बढाइएको हो।
प्रदेश सरकारले गत आर्थिक वर्षमा बेगनास, खास्टे, मैदी, दिपाङ लगायतका तालमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको काम गरेको थियो। प्रदेशभित्रका बाँकी अन्य तालहरुमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणकाम अगामी आर्थिक वर्षमा गर्ने तयारी गरिएको छ।
गण्डकी प्रदेश आफैंमा पर्यटकीय प्रदेश भएको र सिमसार क्षेत्र यस प्रदेशको पर्यटन विकासको मेरुदण्डको रुपमा रहेकाले यस प्रदेशका ताल (सिमसार) क्षेत्रको दिगो संरक्षण र व्यवस्थापनको काम प्रदेश सरकारले अगाडिबढाएको हो। हाल विश्वभरका पर्यटकहरुमध्ये आधाले मात्रै (सिमसार क्षेत्र) तालको भ्रमण गर्ने गरेका छन्। पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको प्रदेश सरकारले गण्डकी प्रदेशभित्रका सबै तालहरुको संरक्षण तथा विकासका लागि ताल संरक्षण तथा विकास प्राधिकरणनै गठन गरेको छ।
ताल प्राधिकरणले यो आर्थिक वर्षमा १८ वटा तालको विकास तथा सौन्दर्यीकरणको काम सम्पन्न गर्न लागि योजनाबद्ध रुपमा लागिरहेको ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनुप गुरुङले जानकारी दिए। उनका अनुसार ती तालहरुमा फुट ट्रेल, रेलिङ, ताल आसपासमा दुबोसहितको बगैंचा, तालको संरक्षणका लागि रिटेनिङ वाल, पानीको गुणस्तर, सिल्टेसन नियन्त्रणसम्बन्धीको काम, पानीको मुहानहरुमा नियमित पानी भण्डारणका लागि आवश्यक पानी रिजर्भ गर्ने लगायतका कामहरु अहिले भएका छन्।
प्रदेशमा अवस्थित ताल र ताल जलाधार क्षेत्रको संरक्षण, पुनस्र्थापना र प्रभावकारी व्यवस्थापन गरी जैविक विविधता र वातावरण संरक्षण गर्ने, ताल क्षेत्रको नक्सांकन गर्ने, अतिक्रमण हटाउने तथा रोक्ने, तालजन्य स्रोतहरुको दिगो तथा बुद्धिमतापूर्ण उपयोग गरी त्यस्ता स्रोतमा आश्रित समुदायको समृद्धिमा टेवा पुर्याउने, तालको दिगो व्यवस्थापन, पर्यापर्यटन तथा जलपर्यटन प्रवद्र्धन गर्ने कामलाई पनि प्रदेश सरकारले अगाडि बढाएको छ।
प्रदेशका सबै ताल तथा हिमताललाई भौगोलिक सूचना प्रणाली रिमोट सेन्सिडद्वारा डिजिटाइज र फिल्ड प्रमाणीकरण गर्ने,राउन्ड फेवाताल पदमार्ग,गण्डकी प्रदेशका सबै तालको अभिलेखीकरण गर्ने,गण्डकी प्रदेशका स्थानीय ताल समिति र व्यवसायीसँग तालको संरक्षण र प्रवद्र्धन जस्ता कार्यक्रम कार्यान्वयनका चरणमा समेत छन्।
विश्वमा हाल हरेक वर्ष २६ करोेड ६० लाख मानिसलाई सिमसार क्षेत्रले रोजगारी दिइरहेको पाइन्छ। तालको उचित संरक्षण हुन सकेमा दिगो पर्यटकको माध्यमबाट स्थानीय उपभोक्ताको जीविकोपार्जनमा टेवा पुग्ने तथा सम्पूर्ण ताल तथा पोखरीहरु प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले अति महत्वपूर्ण रहेको पाइएको हुँदा ताल तथा पोखरीहरुकोे संरक्षण गर्नु अति आवश्यक रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए।
सिमसार क्षेत्रले सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पुयाउने लगायत जैविक विविधताको दिगो व्यवस्थापनमार्फत राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ।