विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस भूमिकाविहीन भएर बस्नु देश र लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।
नयाँ वर्षको अवसरमा बुधबार विराटनगरमा आयोजित कार्यक्रममा उनले कांग्रेस भूमिकाविहीन भएर बस्दा देश समस्यामा अल्झिएको बताए।
‘अहिलेको अवस्थामा कांग्रेस भूमिकाविहीन भएर बस्नु देश र लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण हो। विपी, गणेशमान र गिरिजाप्रसाद कोइरालासँग काम गरेका नेताहरू अलमलिइरहनु आश्चर्यजनक हो,’ उनले भने। राजनीतिमा सधैं गणितीय खेलमात्रै नहुने भएकाले नेताहरू देशलाई निकास दिने विषयमा अलमलिन नहुने उनको भनाइ थियो।
कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्नेमा उनले जोड दिए। कम्युनिष्ट नेतृत्वको सरकारले मुलुकमा अराजकता सिर्जना गरेको कोइरालाको भनाइ थियो। उनले भने, ‘देशको निकासका लागि पनि कांग्रेसले अग्रसरता लिनुपर्छ। तर, कांग्रेस नेतृत्व अल्मिलिरहेको जस्तो देखिएको छ।’