पोखरा- पोखरामा आयोजना भएको प्रथम मेयर साइकल दौडको उपाधि स्याङ्जाको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँडले जीतेका छन्।
नयाँ वर्षको दिनमा आयोजना भएको प्रतियोगितामा निर्धारित दूरी १५ मिनेट ३१ सेकेन्डमा पूरा गर्दै खाँड च्याम्पियन बनेका हुन्। दौड पोखरा ६ हल्लन चोकबाट सुरु भएको दौड पोखरा सभागृहसम्म ५ किलोमिटरको दूरीमा भएको थियो। प्रतियोगितामा कर्णाली प्रदेशको हुम्ला जिल्ला नाम्खा गाँउपालिका प्रमुख विष्णुबहादुर लामाले १५ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो भए।
कास्की माछापुच्छ्रे गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले १६ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै तेश्रो भएका छन्। प्रतियोगितामा विभिन्न जिल्लाका नगरपालिका र गाँउपालिकाका प्रमुख गरी कुल १४ जना प्रमुखहरुको सहभागिता थियो।
प्रतियोगितामा प्रथम भएका खाँडले उपाधिसहित १० तोला चाँदीको पदकसहित सिल्ड र सम्मानपत्र प्राप्त गरे। दोस्रो र तेस्रो हुन सफल प्रमुखहरुले क्रमश सम्मानपत्र, दोसल्लासहित ८ र ७ तोलाको चाँदीको पदक प्राप्त गरेका छन्।
मेयर साइकल दौड प्रतियोगिताको समापन कार्यक्रममा गण्डकी प्रदेशबाट सागकी रजत विजेता जमुना थापालाई नगद १ लाख नगदसहित सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरियो।
साथै सागमा साइकल प्रतियोगितामा पदक विजेता निमा श्रेष्ठ, नमुना थापा, राजेश मगर, उषा खनाललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
सोही क्रममा पोखरेली अग्रज साइक्लिस्टहरु लोकबहादुर थापा, वसन्त सुवल, चिजबहादुर गुरुङ, इन्द्र नेपाली, खिमबहादुर थापा, भरतबहादुर कार्की, निरज थापा, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, मोहनसिंह लालचन, तुलसीकुमार श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ र रामनारायण श्रेष्ठलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत महेश बराललगायतले पुरस्कार प्रदान गरे।




