पोखरा- गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने पक्का भएको छ। प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिने निर्णय भएपछि गुरुङ सरकार ढल्ने पक्का भएको हो।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको सहभागितामा सरकार बन्ने र कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने सहमति भएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले बताए।
पूर्वी नवपरासीको क्षेत्र नम्बर १ (क) बाट नेपाली निर्वाचित भएका हुन्। तनहुँमा जन्मेको उनी गैंडाकोट बस्दै आएका छन्।
जनमोर्चाले यी ३ दललाई सघाउने भए पनि सरकारमा भने सहभागी हुनेछैन। उता स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अब बन्ने सरकारलाई समर्थन गर्ने बताएका छन्।
हाल मुख्यमन्त्रीसहित ७ मन्त्रालय रहेकामा कांग्रेस र माओवादीले ३÷३ मन्त्रालय लिने र जसपालाई १ मन्त्रालय दिने प्रारम्भिक सहमति जुटेको छ।
बिहीबार बिहान ४ दलको बैठक बस्ने र मिलेसम्म अविश्वासको प्रस्ताव पनि भोलि नै दर्ता गर्ने तयारीमा दलहरु छन्।
गण्डकी प्रदेशसभामा ६० सदस्यमध्ये नेकपा एमालेसँग २७ सिट छ। स्वतन्त्र १ र जनमोर्चाले एमालेलाई साथ दिएकै कारण गुरुङ सरकार टिकेको हो। माओवादी केन्द्रका १२ सांसद छन्।
माओवादीका मन्त्री फिर्ता भए पनि अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन। कांग्रससँग १५ र जसपासँग २ सांसद छन्। पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा २०७४ फागुन ४ मा सरका गठन भएको थियो।