काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन्।
नेपाली कांग्रेस चितवन खैरहनी नगर समितिले बुधबार चितवनमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागि नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन्।
‘देशमा सरकार छ कि छैन भनेर खोज्नु पर्ने अवस्था छ,’ उनले भने, ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। ओलीले नैतिक, राजनैतिक तवरले प्रधानमन्त्री हुने वैधानिकता गुमाइसके। त्यसैले तत्काल राजीनामा दिनुपर्छ।’ सिंहले नेपालमा लोकतन्त्र जोगाउनका लागि कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिवेशन समयमै हुनुपर्ने बताए।
‘नेपाली कांग्रेसले देश र जनतालाई संकट पर्दा सधैँ महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ। नेपाली जनताको पार्टी नेपाली कांग्रेस हो,’ उनले भने, ‘राणा शासन हटाउनेदेखि प्रजातन्त्र स्थापना र संविधान निर्माणमा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ।’
सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारामा मात्र सीमित गरेको भन्दै प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको आरोप थियो।
लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्नुपर्नेमा अहिले संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निर्माणमा अग्रसरता लिएको उनले बताए। पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमा गर्नुको विकल्प नभएको उनको भनाइ थियो।