पोखरा - पश्चिमाञ्चल होटल संघ पोखराले नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्ने भएको छ।
कोभिड–१९ को सङ्क्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्यूआर कोडलाई प्रोत्साहन गर्दै सो अभियान सञ्चालन गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
संघले नयाँ वर्ष २०७८ को अवसरमा पोखरा र यस क्षेत्रमा आन्तरिक पर्यटनको आगमन वृद्धि गर्न इ-सेवा र फोन पे प्रालिसँग सहकार्य गरी यो नयाँ वर्षमा ‘जाउँ है पोखरा’ भन्ने दुई दिवसीय डिजिटलमैत्री अभियान सञ्चालन गरेको उनले जानकारी दिए।
यो अभियान ५५ वटा बैंक तथा वित्तीय संस्थामा आबद्ध एक करोड ६० लाख ग्राहकसम्म पुग्ने विश्वास लिइएको छ।
नेपाल राष्ट्र बैंकको प्रविधिमैत्री र खासगरी क्यासलेस भुक्तानी अभियानलाई प्रोत्साहन गर्न संघले नयाँ वर्षको अवसरमा २०७७ चैत ३१ गते र नयाँ वर्ष वैशाख १ गते सदस्य होटल प्रतिष्ठानमा बस्ने पाहुनाले क्यूआर कोडमार्फत् भुक्तानी गर्दा होटल प्रतिष्ठानको प्रकाशित दररेटमा ४० प्रतिशत छुट र क्यूआरमार्फत भुक्तानी गर्दा विभिन्न बैंकले पाहुनालाई अतिरिक्त क्यास ब्याक दिने उहाँले बताए।
नयाँ वर्षको अवसरमा पोखरास्थित होटल प्रतिष्ठानले छुट्टाछुट्टै तवरबाट विभिन्न छुट तथा सहुलियतका आकर्षक प्याकेज सार्वजनिक गरेको र ती बाट समेत लाभ लिन पश्चिमाञ्चल होटेल संघले सम्बन्धित सबैमा आग्रह गरेको छ।