आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेरि भयावह बन्दै कोरोना– सुस्त सरकार, निस्फिक्री नागरिक

फेरि भयावह बन्दै कोरोना– सुस्त सरकार, निस्फिक्री नागरिक

संक्रमितको संख्या मात्रै बढिरहेको छैन्, लक्षणसहितका गम्भीर बिरामीको संख्या पनि थपिँदो छ। युवा उमेरका व्यक्ति पनि कोरोनाबाट गम्भीर बनेर आईसीयूमा भर्ना हुन थालेका छन्। 
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं– सार्वजनिक सवारीसाधनमा खुट्टा हालिनसक्नु भीड छ। बजार र सपिङ मलमा उत्तिकै चहलपहल छ।

पैदलयात्री ठेलमठेल गरेर गन्तव्यतर्फ हुत्तिराखेका छन्। सेनिटाइजर लगाउने र हात धुने आदत धेरैले छाडिसके। कैयौंले भीडमा हिँड्दासमेत मास्क लगाएको देखिँदैन।

नेपालमा चैत ३० गते कोरोना संक्रमणबाट १३ जनाले ज्यान गुमाए। पाँच सय ५९ जना संक्रमित थपिए। आइतबार तीन सय तीन जनामा संक्रमण पुष्टि भएको थियो भने शनिबार तीन सय ३७ जना संक्रमित भेटिएका थिए। चैत १ गते ५३ जनामा मात्रै कोरोना संक्रमण भएको थियो।

यो तथ्यांकले पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको चित्र प्रस्तुत गर्छ। एकै दिनमा १३ जनाको मृत्यु भएपछि कोरोना संक्रमण भयावह बन्दै गएको हो कि भन्ने त्रास जन्माएको छ। 

चैत १ र ३० गतेको तुलना गर्ने हो भने एकै दिनमा थपिएका कोरोना संक्रमितको संख्या करिब १० गुणा धेरै छ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीका अनुसार संक्रमितको संख्या मात्रै बढिरहेको छैन्, लक्षणसहितका गम्भीर बिरामीको संख्या पनि थपिँदो छ। युवा उमेरका व्यक्ति पनि कोरोनाबाट गम्भीर बनेर आईसीयूमा भर्ना हुन थालेका छन्। 

टेकुमा हाल २२ जना बिरामी उपचारत छन्। १६ जना आईसीयूमा छन् भने पाँच जना आइसोलेसनमा र एक जना इमरजेन्सीमा छन्। 

आईसीयूमा रहेका १६ मध्ये तीन जना ३५ वर्षमुनिका रहेको डा. राजभण्डारीले जानकारी दिए। उनका अनुसार काठमाडौंका एक २४ वर्षीय युवकको पनि गम्भीर अवस्थामा उपचार भइरहेको छ। 

नयाँ प्रकारको कोरोना भाइरस भित्रिएसँगै नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्नुका साथै यसबाट गम्भीर बिरामी हुनेको संख्या पनि थपिन थालेको छ। 

अर्का जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी यसपटकको कोरोना अघिल्लो लहरभन्दा ज्यादै खतरनाक देखिएको बताउँछन्। उनका अनुसार नयाँ प्रकारको कोरोना पहिलेभन्दा सात गुणा शक्तिशाली छ। 

पहिलो लहरमा कोरोना भाइरस संक्रमित एक व्यक्तिले १० जनासम्मलाई सार्न सक्थ्यो भने अहिले ७० जनासम्मलाई सार्न सक्ने देखिएको उनी बताउँछन्। 

सर्वसाधारणको हेल्चेक्र्याइँ भने कायम छ। कोरोनाले फेरि खतराको घण्टी बजाउँदासमेत सर्वसाधारण किन बेवास्ता गरिरहेका छन् त? 

जनस्वास्थ्याविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘राज्यले नै सही सूचना नदिएका कारण हेल्चेक्रयाइँ बढेको छ। ज्येष्ठ नागरिक र दीर्घरोगीलाई मात्रै कोरोनाले गाँज्छ भनेर सूचना प्रवाह गरेपछि युवामा हामीलाई त केही हुन्न रहेछ भन्ने लाग्नु स्वाभाविक हो।’ 

उनका अनुसार सरकारी संयन्त्रले नागरिकसमक्ष सही सूचना पुर्‍याउन सकेको छैन। उनी भन्छन्, ‘कतिपयलाई कोरोनाका विषयमा अझै भ्रम छ। यसलाई सामान्य रुपमा लिने पनि धेरै छन्।’ 

त्यसो त सरकारले भीड कम गर्न भनेको छ। तर नागरिकलाई उपयुक्त विकल्प दिन सकेको छैन। नागरिकसँग दैनिक काम अन्य विकल्पबाट कसरी गर्न सकिन्छ भन्ने उपाय नहुँदा पनि यस्तो अवस्था देखा परेको जनस्वास्थ्यविद् मरासिनीको भनाइ छ। 

टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी जिम्मेवार व्यक्तिबाटै कोरोनाका विषयमा भ्रमित सूचना बाँड्ने काम भएकाले पनि हेल्चेक्र्याइँ बढेको बताउँछन्। 

उनी भन्छन्, ‘कोरोनाले केही गर्न सक्दैन, बेसारपानी खाने हो, उडाउने हो भन्ने जिम्मेवार व्यक्तिहरुको भाषण गर्न थालेपछि सर्वासाधारण कसरी सचेत हुन्छन्?’ 

डा. राजभण्डारी कोरोना संक्रमण दीर्घरोगीलाई मात्रै हुने हो, युवालाई केही हुँदैन भन्ने भ्रमबाट मुक्त हुन सुझाव दिन्छन्। उनी भन्छन्, ‘कोरोना के हो जसले एकै परिवारका तीन जना गुमाए, त्यसलाई सोध्नुस्, यो कति घातक छ, जो एक मिनेट अक्सिन बिना बस्न नसक्ने अवस्थामा पुगेका छन् त्यसलाई सोध्नुस्।’

प्रकाशित: Apr 13, 2021| 06:54 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।